बाँकि रहेका सेवा क्षेत्र प्रस्ताव आएपछि निर्णय हुने

  Sampatti News

September 30, 2020

काठमाडौँ । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय (सीसीएमसी) निर्देशक समितिले निषेधाज्ञापछि अहिलेसम्म पनि सञ्चालनमा नआएका सेवा सञ्चालन गर्न सम्बन्धित मन्त्रालयबाट प्रस्ताव आएपछि निर्णय गर्ने भएको छ ।

सीसीएमसी निर्देशक समितिको मंगलबार बसेको बैठकले बाँकी रहेका क्षेत्रहरु खोल्ने सम्बन्धमा अध्ययन गरी सम्बन्धित मन्त्रालयबाट प्रस्ताव आएपछि निष्कर्षमा पुग्ने निर्णय गरेको हो ।

बैठकका निर्णयहरु सुनाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले खोल्न बाँकी रहेका क्षेत्रहरु सूचारु गर्ने सम्बन्धमा अध्ययन गरी प्रस्ताव ल्याउने सम्बन्धमा निर्णय भएको बताए ।

उनले भने, ‘खोल्न बाँकी रहेका सेवाहरु सम्बन्धित मन्त्रालयले विस्तृत अध्ययन गरेर त्यसको स्थिति के छ र के कसरी सञ्चालन गर्न सकिन्छ त्यसको खाका पनि लिएर आउने र फेरि त्यसमा पुनस् छलफल गरेर निर्णयमा पुग्ने भन्ने निर्णय भएको छ ।’

बैठकले तेस्रो मुलुकबाट उद्धारको क्रम जारी रहेको अवस्थामा उद्धार कार्यलाई थप व्यवस्थित गर्ने निर्णय पनि गरेको छ । सचिव गुरागाईंले भने, ‘तेस्रो मुलुकबाट उद्धारको क्रम जारी रहेको अवस्थामा थप व्यवस्थित गरी थप उडानको व्यवस्था गरेर शीघ्र उद्धार गर्न बाँकी नेपाली नागरिकहरुको उद्धार गर्ने भन्ने निर्णय भएको छ ।’

बैठकले संक्रमण रोकथाम तथा नियन्त्रणलाई थप व्यवस्थित र प्रभावकारी बनाउन जनचेतना अभिवृद्धिका कार्यक्रमलाई बढाउने निर्णयसमेत गरेको छ । त्यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनचेतनामूलक सन्देशहरु तयार गरेर विभिन्न सञ्चार माध्यमबाट प्रसारण गर्ने व्यवस्था गर्ने सम्बन्धमा समेत निर्णय भएको सचिव गुरागाईंले बताए ।

प्रकाशित मिति:September 30, 2020