३० दिनको अल्टिमेटम सहित नागार्जुन नगरपालिकालाई नेकपा समाजवादीको माग पत्र

  Sampatti News

October 27, 2021

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले नागार्जुन नगरपालिकालाई माग पत्र बुझाएको छ ।

नियुनतम सामाजिक सुविधाको माग राख्दै नेकपा (एकीकृत समाजवादी)ले माग पत्र बुझाएको हो ।

नेकपा (एकीकृत समाजवादी)को माग पत्रमा खानेपानी वितरण सहज बनाउँदै न्यूनतम महशुल छुट गर्न तथा फोहोरमैला संकलन नियमित तथा शुलभ बनाउने लगायतका आग्रह उक्त मागपत्रमा रहेको छ ।

नगरप्रमुख मोहनबहादुर बस्नेतलाई पार्टीका नगर संयोजक कृष्णहरि खत्रीसहितको टोलीले माग पत्र बुझाएको हो ।

गत स्थानीय तहको निर्वाचनमा सबै दलहरूले आफ्नो घोषणापत्र र सार्वजनिक कार्यक्रमहरूमा खानेपानी सबै घरघरमा पुर्‍याउने प्रतिबद्धता गरेको स्मरण समेत गराएको छ ।

मागपत्रमा भनिएको छ,“स्थानीय तहले पाँच आर्थिक वर्षको बजेट सार्वजनिक गरीसक्दा पनि आधारभूत आवश्यकता भनी स्वीकार गरिएको स्वच्छ खानेपानी वितरण नागार्जुन नगरपालिकाको प्राथमिकतामा नपरेको महसुस हामीले गरेका छौं ।”

कोभिडले आक्रान्त बीचपनि नागरिकहरूले वार्षिक सम्पत्ति कर तथा अन्य करहरू नगरपालिकालाई बुझाउदै आएको स्मरण गराउँदै नेकपा समाजवादीले मागपत्रमा भनेको छ,“यसलाई मध्यनजर राख्दै नागार्जुन नगर भित्र भएका खानेपानी उपभोक्ता समितिहरूले वितरण गर्ने पानीको स्रोत, धारा जडान शुल्क, मासिक आम्दानी खर्च र हाल मौज्दात रकमको आधारमा सबै उपभोक्ता समितिहरूले पानी वितरणको न्यूनतम युनिट तोक्दै सो युनिटको न्यूनतम शुल्क पूर्ण मिनाहासहित निशुल्क गर्न र सो कार्यको लागि नगरपालिकाले तत्काल सहजीकरण गरिदिनुहुन माग गर्दछौं ।”

खानेपानी समितिहरूलाई सहज रुपमा सञ्चालन गर्न धारा वितरण संख्याका आधारमा भौतिक पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गर्न माग पनि नेकपा (एकीकृत समाजवादी)ले माग गरेको छ ।

नियमित साना समस्याहरू खानेपानी समितिका सिमित ज्ञान भएका प्राविधिकहरूले समाधान गरेतापनि अहिलेका समस्याको समाधान गर्न समितिहरू सक्षम नभएको नेकपा (एकीकृत समाजवादी)ले दाबी गरेको छ ।

खानेपानी वितरण सम्बन्धि उच्च ज्ञान भएका इन्जिनियर र प्लम्बरहरूको व्यवस्था गर्नपनि ज्ञापन पत्रमा माग गरिएको छ ।

‘फोहोरको शुल्कमा अनियमिता’

नेकपा एकीकृत समाजवादीले फोहोरको शुल्कमा समेत अनियमिता भएको औंल्याएको छ ।

नगरप्रमुख बस्नेतलाई बुझाइएको ज्ञापनपत्रमा हाल निजी कम्पनीहरूले फोहोर संकलन गरिरहेता पनि वार्षिक र दशै खर्च भनी महिनाको थप शुल्क लिने गरिको तर फोहोर संकलन अनियमित र अव्यवस्थित रहेको छ ।

मागपत्रमा भनिएको छ,“फोहोर मैला संकलन शुल्क शुलभ र नियमित तालिकका बनाई अनिवार्य कार्य गर्न सरकोकारहरूलाई निर्देशन गर्नुहुन माग गर्दछौं ।”

नेकपा (एकीकृत समाजवादी)ले ३० दिनभित्र माग पुरा गर्न समयसीमा दिएको छ ।

प्रकाशित मिति:October 27, 2021