प्रमुख दलका शीर्ष नेता एकै मञ्चमा

  Sampatti News

December 10, 2021

प्रमुख दलका शीर्ष नेता एकै मञ्चमा

काठमाडौं-धेरै पछी प्रमुख दलका शीर्ष नेताहरु नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन शत्रमा एकै मञ्चमा देखिएका छन् ।

शुक्रबार भृकुटीमण्डपमा शुरु भएको महाधिवेशनको उद्घाटन शत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत एकै मञ्चमा देखिएका हुन् ।

सत्तासीन नेपाली काँग्रेसको १४औँ महाधिवेशन आज शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको हो ।

महाधिवेशनको प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गरेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एमाले अध्यक्ष केपी ओली एकै मञ्चमा उपस्थित भए ।

ओलीले प्रचण्डसँग एक वर्षपछि र नेपालसँग पाँच महिनापछि मञ्च सेयर गरेका हुन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेयता उनीसँग प्रचण्ड र माधव नेपालको राम्रो सम्बन्ध रहेको छैन भने पछि सर्वोच्चको आदेशको बलमा एमाले र माओवादी ब्यूँतिएको थियो ।

राजनीतिक तिक्तताका बीच तीन नेता आज एकै मञ्चमा देखिएका हुन् ।

एमालेले हालै चितवनमा सम्पन्न गरेको १० औं महाधिवेशनको उद्घाटनमा प्रचण्ड निमन्त्रणा पाएर पनि सहभागी भएनन् भने नेपाललाई एमालेले निमन्त्रणासमेत गरेन।

नेपाली कांग्रेसको महाधिवेशन शुक्रबार उद्घाटन समारोह सकिएपछि शनिबारदेखि निर्वाचन प्रक्रिया सुरु हुनेछ।

महाधिवेशनले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री गरी १३ पदाधिकारीसहित १३४ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्नेछ।

प्रमुख दलका शीर्ष नेता एकै मञ्चमा

प्रकाशित मिति:December 10, 2021