महोत्तरीमा गौशालाका गाईको बिजोग

  Sampatti News

June 1, 2022


काठमाडौं- हिन्दू परम्परामा गाई पूज्य मानिन्छ । परम्पराले पूज्य र राष्ट्रिय जनावरको परिचय बनाएको गाईको महोत्तरीको गौशालामा अहिले बिजोग छ । उचित सम्भार, खानपान र उपचारको अभावमा गौशाला नगरपालिका–३ नवराजपुरस्थित निगौल गाई गौशालाका गाई भकाभक मर्दैछन् ।राष्ट्रिय सहकारी विकास बोर्ड अभिभावकत्वको गौशालाका गाईलाई उचित रेखदेख, पौष्टिक आहार र उपचारको अभाव छ । “न गाईलाई समुचित आहार छ, न खानपानको व्यवस्थित तालिका नै, गोठ पनि के भनौँ रु खोरमा थुनिएका छन्”, गाईको अवस्थाबारे गौशाला–४ का अजय कुशवाहा भन्नुहुन्छ । पछिल्लो एक वर्षभित्र गौशालाका २० भन्दा बढी गाई मरिसकेका छन् ।अहिले गौशालामा करिब ३०० गाई छन् । गौशालाका गाई हेर्न पुग्नुभएका महोत्तरीकै भङ्गाहा नगरपालिका–४ रामनगरका रामईश्वर ठाकुर भन्नुहुन्छ, “सबैजसो गाईका करङ देखिएका छन् ।” गाईले हरियो घाँस नपाएको महिनौँ भएको छ । गौशाला गाईगोठ पुग्दा गाईको अवस्था देखेर द्रवित नहुने कोही हुँदैनन् ।गौशालाका कर्मचारी भने गाईको समुचित देखभाल र खानपान व्यवस्थापनबारे राष्ट्रिय सहकारी बोर्ड उदासिन रहेको बताउँछन् । “अभिभावकत्व लिने राष्ट्रिय सहकारी विकास बोर्डले कुनै वास्ता गर्दैन, के गरी धान्ने रु” निगौल गाई गौशाला कार्यालयका प्रमुख डा दीपेन्द्र पण्डितले भन्नुभयो । गौशाला सञ्चालनका लागि १५० बिघा जग्गा छ । जग्गामा घाँस र अन्य बाली समुचित तवरले लगाउन नसक्दा गाईलाई आहाराको अभाव भएको हो ।“गाईकै खानपान प्रबन्धका लागि जग्गा हो, जग्गामा घाँस र अन्य बाली लगाउने गरेको देखिँदैन, अधिकांश जग्गा बाँझै छ”, स्थानीय मनोज थापा भन्नुहुन्छ, “केही दशकयता कर्मचारीको बेखबरपन, सरकारको उदासिनता र स्थानीय तहको बेवास्ताले बिजोग छ ।” निगौल गाई गौशालामा अहिले राष्ट्रिय सहकारी बोर्डका २१ कर्मचारी कार्यरत छन् ।गोठमा १०औँ वर्ष पालिएका गाईले बहर लिएका छैनन् । गाई थारा बस्ने क्रम बढेको छ । “गोठमा थारा गाई त छन्, गाई बहाल ९गर्भवती० नहुने समस्या छ”, कार्यालय प्रमुख पण्डित भन्नुहुन्छ । गौशालामा अहिले १८ दूध दिने गाई छन् । यी गाईबाट दैनिक १२ लिटरमात्र दूध सङ्कलन हुनसकेको छ । गाईलाई पौष्टिक आहार दिन नसकिएकै कारण दूधको मात्रा निकै कम भएको कार्यालय प्रमुख डा पण्डितको स्वीकारोक्ति छ ।बोर्डले गाईको सम्भार र स्याहारका लागि रकम नपठाउँदा अवस्था चिन्ताजनक बनेको पण्डितको भनाइ छ । “गाईकै खानपानका पौष्टिक आहारको रु २२ लाख ऋृण तिर्न बाँकी छ”, पण्डित भन्नुहुन्छ, “अब त उधारो पत्याउन छाडे, त्यसैले गाईलाई पौष्टिक आहार खुवाउन सकिएको छैन”, यो प्रबन्ध राष्ट्रिय सहकारी विकास बोर्डले गर्नुपर्ने पण्डितको भनाइ छ ।गाई गौशालाको जग्गामा पशु हाट लगाइने ठेक्का बन्दोबस्तबाट २५ प्रतिशत रकम आफ्नो कार्यालयले पाउनुपर्ने पूर्वसहमति भए पनि गौशाला नगर कार्यपालिकाको कार्यालयले दिन आनाकानी गर्दै आएको पण्डितले बताउनुभयो ।

प्रकाशित मिति:June 1, 2022