हाउस अफ रिप्रेजेन्टेटिभ्सले गर्याे ५ खर्बकाे राहत प्याकेज घाेषणा

  Sampatti News

April 25, 2020

वाशिङटन डीसी (अमेरिका) । अमेरिकाको तल्लो सदन ‘हाउस अफ रिप्रेजेन्टेटिभ्सले करीब ५ खर्ब डलरको राहत प्याकेज सम्बन्धी विधेयक अनुमोदन गरेको छ ।

साना तथा व्यवसाय र अस्पतालहरुको लागि भनेर संसदले बिहीवार ४ खर्ब ८४ अर्ब डलरको सो प्याकेज भारी बहुमतले पारित गरेको हो । तल्लो सदनमा प्याकेजसम्बन्धी विधेयकको पक्षमा ३८८ सदस्यले भोट हालेका थिए भने पाँच जनाले मात्रै विपक्षमा मत दिएका थिए ।

योसँगै कोरोना भाइरसको महामारीसँग जुध्न अहिलेसम्म ल्याइएको राहत प्याकेजको आकार करीब ३० खर्ब डलरनजिक पुगेको छ । विधेयकमा राष्ट्रपति डोनल्ड ट्रम्पले चाँडै हस्ताक्षर गर्ने वाचा गरेका छन् ।

यो रकम कोभिड–१९का बिरामी उच्च रहेको अस्पतालहरूलाई राहत स्वरूप थप ऋण उपलब्ध गराउन समेत प्रयोग हुने बताइएको छ । सङ्क्रमितहरूको परीक्षणका लागि पनि उक्त रकम प्रयोग गरिनेछ ।

अमेरिकामा गएको एक सातामा बेरोजगारी भत्ता दाबी गर्ने अमेरिकीको संख्या ४४ लाख थपिएको छ । योसँगै बेरोजगारी संख्या विगत ५ हप्तामा बढेर २ करोड ६४ लाख पुगेको छ ।

यो अमेरिकी जनशक्तिको १५ प्रतिशत भन्दा बढी हो । गत हप्ता थपिएका दाबी आफैँमा ठूलो भएपनि कामबाट निष्कासन गरिनेहरूको संख्या उच्च विन्दुमा पुगिसकेको संकेत देखिन थालेको विश्लेषकहरु बताउँछन् ।

यति बेलाको महत्वपूर्ण प्रश्न अर्थतन्त्र कहिलेबाट चलायमान हुन्छ र त्यसपछिको अवस्था कस्तो हुन्छ भन्ने हो । सन् १९३० को दशकको महामन्दीपछि कोरोना भाइरस विश्वको सबैभन्दा ठूलो आर्थिक संकट बनेको छ ।

प्रकाशित मिति:April 25, 2020