क्वारेन्टाइनमा बसेका ११२ नेपाली फिर्ता, १५४ भारतीय गए आफनो देश

  Sampatti News

April 26, 2020

बुटवल । रुपन्देहीको भैरहवा–सुनौली नाकामा भारतीय पक्षले स्थापना गरेको क्वारेन्टाइनमा २५ दिन बसेका एक सय १२ जना नेपालीलाई स्वदेश ल्याइएको छ । यसअघि पनि एक सय दुई जनालाई नेपाल ल्याइएको थियो । सीमा क्षेत्रको क्वारेन्टाइनमा तीन सय ३५ नेपाली थिए ।

अर्घाखाँची, गुल्मी, पाल्पा लगायत जिल्लाका एक सय १२ जना नेपाल फर्केको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता खड्क बहादुर खत्रीले बताए । आरडीटी परीक्षण गरेर मात्रै उनीहरुलाई मुलुक प्रवेश गराइएको हो ।

भारतको क्वारेन्टाइनमा रुपन्देही, अर्घाखाँची, पाल्पा, चितवन, तनहुँ, बारा, कपिलवस्तु, प्युठान, धादिङ, बागलुङ, स्याङ्जा, जाजरकोट, खोटाङ, बाँके, मोरङ, सुनसरी र पूर्वी नवलपरासी गरी १८ जिल्लाका नागरिक छन् । यसमध्ये धेरै गुल्मी र अर्घाखाँचीका छन् ।

यसैगरी, नेपालतर्फको क्वारेन्टाइनमा बसेका एक सय ५४ जना भारतीयलाई पनि उनीहरूकै देश पठाइएको छ । उनीहरू भैरहवास्थित प्रतिमान–नीमा स्मृति प्रतिष्ठानको क्वारेन्टाइनमा २५ दिन बसेर भारत फर्किएका हुन् ।

प्रकाशित मिति:April 26, 2020