गृह मन्त्रालय नछाड्ने रास्वपा

  Sampatti News Online

January 29, 2023

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछाने पदमुक्त भएसँगै खाली बनेको गृहमन्त्रालय आफैंले पाउनुपर्ने अडान लिने भएको छ । पार्टीका नवनियुक्त कार्यवाहक सभापति डीपी अर्यालले रास्वपाको भागमा परेको गृहमन्त्रालयमा पार्टीले अर्को व्यक्ति तोक्न सक्ने बताए ।

उनले भने, ‘हाम्रो पार्टीले पाएको मन्त्रालयमा हामी नै जान्छौं । यो विषय आज टुंगिन्छ ।’

निवर्तमान पार्टी सभापति रवि लामिछानेले आजै जिल्ला प्रशासन कार्यालय गएर नयाँ नागरिकता लिने तयारी गरेका छन् । यदि उनले तत्काल नागरिकता पाएको खण्डमा फेरि गृहमन्त्री नियुक्त हुनसक्ने बाटो पनि छ । नेपालको संविधानअनुसार गैरसांसद नागरिक ६ महिनाका लागि मन्त्री नियुक्त हुन सक्छ । ६ महिनाभित्र चितवनमा उपनिर्वाचन भएर रवि फेरि संसदमा फर्किन र मन्त्रालयमा निरन्तरता दिन सक्छन् ।

यो सम्भावनालाई पनि अर्यालले नकारेनन् ।

रविको नागरिकतामाथि अदालतले शुक्रबार फैसला सुनाएको थियो । त्यसै दिन रास्वपाको वैठक बसेर अर्याललाई पार्टीको कार्यवाहक सभापति र संसदीय दलको नेता चयन गर्‍यो । यदि आज रविले नागरिकता पाए भने उनी तत्काल पार्टीको कमाण्डमा फर्किन बाटो खुल्नेछ ।

यस विषयमा अर्यालले भने, ‘केन्द्रीय समितिले जे निर्णय लिन्छ, हामी त्यही नै गर्छौं ।

प्रकाशित मिति:January 29, 2023