कटहरियामा याेजना अनुगमन र कार्यवाहकमा मेयर जैसवालको मनपर्दी 

  Sampatti News Online

May 9, 2023

रौतहट २६ बैशाख। रौतहटको कटहरिया नगरपालिकाका मेयर अजयप्रकाश जैसवाल र उपमेयर रिता देवी यादव बीच ठूलो मतभेद भएको छ। मेयर जैसवाल र उपमेयर यादव एउटै पार्टीबाट प्रतिनिधित्व गरे पनि निर्वाचनको केहि समय भित्र दुबैजाना भित्र मतभेद देखिएको हो।

मेयर जैसवाल काम विशेषले बाहिर जाँदा उपमेयर यादव लाई कार्यवाहक मेयरको जिम्मेवारी दिनुपर्नेमा त्यसो नगरि मर्यादाक्रम मिचेर मनपर्दी गरिरहेको गुनासो बढ्दै गएको छ। कुनै प्राबिधिक कारणवश एकपटकको लागि त्यस्ताे हुनुलाई एउटा संयोग भनेर मान्न सकिन्छ। तर कटहरिया नगर प्रमुख अजयप्रकाश जैसवाल पटकपटक बाहीर जाँदा उपमेयर रिता देवी यादव लाई कार्यवाहक मेयरको जिम्मेवारी दिनुको सट्टा फेरी फेरि वडा अध्यक्षहरु लाई कार्यवाहक दिनुले नियतबस नै त्यसो गरीरहेको जानकारहरुले दाबी गरेका छन। गत स्थानिय निर्वाचनमा कटहरिया नगरपालिकामा  नेपाली कांग्रेसको टिकट बाट चुनाव लडेर मेयर पदमा जैसवाल र उपमेयर पदमा यादव विजयी भएकी थिइन्। पदभार ग्रहण गरेपछि केही महिना सौहार्दपूर्ण तरिकाले नगरपालीका सञ्चालन भएपनि गलत क्रियकलापको बिरोध जनाएपछि  मेरो मर्यादाक्रम मिचेर मेयर जैसवालले अन्य लाई कार्यबाहक दिँदै आएको उपमेयर यादवले गुनासो गरेकी छिन्। केहीदिन अघि मात्र उनी देश बाहीर जाँदा कटहरीया ५ का वडा अध्यक्ष सर्फलाल गुप्तालाई र त्यस अघी वडा ७ का अध्यक्ष समिस विक्रम लाई पटकपटक कार्यवाहक मेयरको जिम्मेवारी दिँदै आएको उपमेयर यादवले जानकारी दिएकि छिन। स्थानिय सरकार सञ्चालन एनमा गाउँ पालिका,नगरपालिका प्रमुख एकहप्ता अथवा सो भन्दा बढीको लागि बाहिर जाँदा उपप्रमुख उपमेयर लाई कार्यवाहकको जिम्मेवारी दिनुपर्ने प्रष्ट कानुनी व्यवस्था गरिएको छ। तर कटहरियामा उक्त एनको समेत बेवास्ता गरेको देखिएको छ।

त्यतिमात्र नभई नगरपालीकाको याेजना अनुगमनको उपमेयर अधिकार लाई पनि कटौति गरेर मेयर जैसवाल आफै योजनाको अनुगमन गरीरहेको कटहरियाकी उपमेयर रिता देवी यादवले गुनासो गरेकी छिन्। कार्यवाहक र याेजना अनुगमनको उपमेयरको अधिकार माथी प्रहार नगर्न पटकपटक आग्रह गर्दा पनि कूनै वास्ता नभएकाे उनको भनाई छ। याेजना अनुगमनको नाउँमा कटहरीया नगरपालीकाले यस आर्थीक वर्षमा अनुगमनमा ३० लाख रुपैयाँ छुट्याएको छ। याेजना अनुगमनको अधिकार नेपाल सरकारले उपमेयर लाई दिएको छ तर बलपूर्वक मेयर अजयप्रकाशले त्यसो गरीरहेको उपमेयरका श्रीमान जवाहर यादवले बताएका छन। 

प्रकाशित मिति:May 9, 2023