दार्चुलामा बिहीवारबाट चीन प्रवेश अनुमति पत्र वितरण सुरु

  Sampatti News

April 26, 2024


दार्चुला । दार्चुलाको व्याँस गाउँपालिकाका बासिन्दालाई चीनको सीमा क्षेत्र प्रवेशका लागि अनुमति पत्र वितरण सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले बिहीवारबाट चीन प्रवेशका लागि अनुमति पत्र ‘पास’ वितरण सुरु गरेको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए । पहिलो दिन २ जनालाई प्रवेश अनुमति पत्र वितरण गरिएको उनले बताए ।
‘बिहीवारबाट चीन प्रवेश अनुमति पत्र वितरण सुरु गरेका छौ, औपचारिक रुपमा नाका खुलेको छैन, तर, दुई देशबीच केहि समझदारी भएकाले प्रवेश पत्र जारी गरेका छौ । नाका खुल्ने बित्तिकै यो कार्डबाट प्रवेश पाइन्छ ।’ प्रजिअ जोशीले भने ।
उक्त पासको म्याद एक वर्षको हुनेछ । गृह मन्त्रालयले पठाएको डिजाइन अनुसार जिल्लामै कार्ड छपाइ गरिएको हो । नेपाल–चीन सीमा क्षेत्रका बासिन्दा र नेपाली नागरिकताको प्रमाणपत्र भएका व्यक्तिले पास पाउनेछन् । प्रमुख जिल्ला अधिकारी जोशीका अनुसार व्यापारका लागि तिब्बत जान ७९ जनाले सिफारिस लिएका छन् ।
तर, चीनको ताक्लाकोट जोड्ने टिंकर नाका औपचारिक रुपमा खुलेको छैन् । कोभिड–१९ यता यो नाका बन्द रहेको छ । नेपालबाट तिब्बत गई व्यापार गर्ने दार्चुलाका खासगरी व्याँसबासी व्यवसायीलाई पसलका सामानसँगै आफ्नो पुँजी फसेकोमा चिन्ता छ । तर, अहिले नाका खुल्ने चर्चासँगै छाङरू–तिंकरका व्यवसायी ताक्लाकोट जाने चाँजोपाँजो मिलाउन थालेका छन् ।

प्रकाशित मिति:April 26, 2024