भारतमा सङ्घीय संसदको तल्लो सदन लोकसभा चुनाव अन्तर्गत दोस्रो चरणको मतदान आज

  Sampatti News Online

April 26, 2024

काठमाण्डौँ । भारतमा सङ्घीय संसदको तल्लो सदन लोकसभा चुनाव अन्तर्गत दोस्रो चरणको मतदान आज हुँदैछ । आज १२ राज्य र केन्द्रशासित एक प्रदेशका गरी कुल ८८ सिटका लागि मतदान शुरु भएको छ । यसका लागि एक हजार दुई सय १० उम्मेदवार प्रतिस्पर्धामा छन् ।

अघिल्लो चुनावमा बीजेपीले ५५ र कांग्रेसले १८ सिट जितेका थिए । कांग्रेस नेता राहुल गान्धी लगातार दोस्रो कार्यकालका लागि निर्वाचित हुन प्रतिष्पर्धा गरिरहेको केरलाको वायनाड निर्वाचन क्षेत्रमा पनि आजै मतदान हुने बीबीसी हिन्दीले जनाएको छ ।

केरलाका सबै २० सिटका लागि आज मतदान हुनेछ । यसैगरी कर्नाटकका २८ मध्ये १४ सिट, राजस्थानका १३ सिटका लागि मतदान हुँदैछ । महाराष्ट्र, उत्तर प्रदेश, मध्यप्रदेश, असम, बिहार, छत्तिसगढ र पश्चिम बङ्गालमा आज मतदान हुने खबरमा उल्लेख छ ।

यस्तै मणिपुर, त्रिपुरा र जम्मु कश्मीरका एकरएक सिटका लागि भोलि मतदान हुनेछ । नेपालीभाषीहरुको बाहुल्य रहेको दार्जिलिङमा पनि भोलि मतदान हुनेछ । यसअघि पहिलो चरणअन्तर्गत अघिल्लो हप्ता २१ राज्य र केन्द्रशासित प्रदेशका एक सय दुई सिटका लागि मतदान भएको थियो । सात चरणमा हुने चुनाव आउँदो जुन १ मा सकिनेछ । जुन ४ देखि सबै क्षेत्रको एकसाथ मतगणना गर्ने तयारी छ ।

प्रकाशित मिति:April 26, 2024