कोशीमा एमाले सरकार बनाउन ओली बालुवाटार धाएको धायै

  Sampatti News

July 31, 2023

काठमाडौं । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका ओली सोमबार पनि बालुवाटार पुगेका छन् । कोशी प्रदेशमा नयाँ सरकार गठनको विषयमा छलफल गर्न ओली बालुवाटार जाने क्रम तीव्र बनेको नेताहरू बताउँछन् । सोमबार बालुवाटार पुगेर ओलीले प्रचण्डसँग कोशीमा एमाले र माओवादीको सरकार बनाउन प्रस्ताव गरेका छन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार ओलीले गठबन्धनले सरकार गठन गर्न नसक्ने अवस्था रहेकाले एमाले–माओवादीको सहकार्यमा सरकार गठन गर्नु नै निकास रहेको प्रचण्डलाई सुनाएका थिए । उनले कोशीमा सहकार्यका लागि प्रस्ताव गरे पनि प्रधानमन्त्री भने अहिलेको अवस्थामा सहकार्यको सम्भावना नरहेको जवाफ दिएका थिए । स्रोतका अनुसार ओलीले नयाँ सिराबाट सहकार्य हुने अवस्था बनेको खण्डमा माओवादीलाई मुख्यमन्त्री बनाउन एमाले तयार रहेको बताएका थिए ।गठबन्धनका उद्धव थापा नेतृत्वको सरकारलाई सर्वोच्चले असंवैधानिक ठहर गर्दै खारेज गरेसँगै कोशीमा नयाँ सरकार गठनको प्रक्रिया जारी छ । तर, अहिलेसम्म कसैले बहुमतको आधारमा सरकार दाबी गर्ने वातावरण बनेको छैन । गठबन्धनले सभामुखलाई राजीनामा गराएर भए पनि बहुमत पुर्‍याएर सरकार दाबी गर्ने तयारी गरेको छ । तर, सभामुखले राजीनामा गरेर सरकार गठन गरे पनि नियुक्त हुने मुख्यमन्त्रीले विश्वासको मत पाउने सम्भावना भने छैन । गठबन्धनले सरकार गठन गर्न नसकिरहेको अवस्थामा अध्यक्ष ओलीले प्रधानमन्त्रीसँग सहकार्यको प्रस्ताव राखेका हुन् । कोशीमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङले चार दिनको समय दिएका छन् । जुन सोमबार सकिँदैछ । सर्वोच्च अदालतले साउन १७ गतेसम्म नयाँ सरकार गठन गरिसक्न परमादेश जारी गरेको थियो ।

प्रकाशित मिति:July 31, 2023