राप्रपा कार्यालयमा डोजर चलाउनेबारे सिडिओ कार्यालयमा छलफल जारी

  Sampatti News

July 31, 2023

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा डोजर चलाउनेबारे जिल्ला प्रशासन कार्यालयसँग छलफल गरिरहेको छ। अहिले महानगरका पदाधिकारी र काठमाडौँका प्रमुख जिल्ला अधिकारीबीच छलफल भइरहेको काठमाडौँ नगर प्रहरीले बताएको छ । महानगरले केही नगर प्रहरी र डोजर अहिले हाँडीगाउँमा तयारी अवस्थामा राखेको छ। बिजुलीको हाइटेन्सन लाइनमुनि कार्यालय भवन रहेको भन्दै महानगरले हटाउन राप्रपालाई गत शुक्रबार समय दिएको थियो । तर राप्रपाले कार्यालय नसारेपछि महानगरले आज भत्काउने तयारी गरेको हो। महानगरले कार्यालय भत्काउने भनेपछि सोमबार बिहानैदेखि राप्रपाका नेता, कार्यकर्ताहरू केन्द्रीय कार्यालय पुगेका छन् । राप्रपा कार्यकर्ताहरूले सडकमा गाडी राखेर अवरोधसमेत गरेका छन् ।

प्रकाशित मिति:July 31, 2023