दसैँमा पचास हजार खसीबोका र च्याङ्ग्रा ल्याउने तयारी 

  Sampatti News

September 30, 2023

काठमाडौँ। यस वर्ष दसैँमा उपत्यकामा ५० हजार खसीबोका र च्याङ्ग्रा बिक्री हुने व्यवसायीले अनुमान गरेका छन् । दसैँमा खसीबोकाको खपत धेरै हुने हुँदा सरकारी कम्पनी र निजी व्यवसायीले ५० हजार सङ्ख्यामा खसीबोका र च्याङ्ग्रा ल्याउने तयारी गरेका हुन् । 

सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र निजी व्यवसायीले उपयत्यकामा दसैँमा खसीबोका ल्याएर बिक्री गर्ने गरेका छन् । यस वर्ष पनि व्यवसायीले गाउँ गाउँमा गएर खसीबोका खरिद गर्ने तयारी गरेका छन् । 

काठमाडौँ चौपाया खरिद बिक्री सङ्घका व्यवस्थापक जीवन खड्काले दसैँलाई लक्षित गरेर घटस्थापनाको दिनदेखि उपत्यकामा खसीबोकाको बिक्री सुरु गरिने जानकारी दिनुभयो । यस वर्ष गत वर्षकै हाराहारीमा ४५ देखि ५० हजार सङ्ख्यामा उपत्यकामा खसीबोकाको खपत हुने उहाँको अनुमान छ । आर्थिक मन्दीको असरले उपभोक्तासँग पर्याप्त क्रयशक्ति नहुँदा यस वर्ष बिक्री खासै नबढ्ने देखिएको उहाँको भनाइ छ । यस वर्ष खसीबोकाको मूल्य गत वर्ष कै प्रतिकेजी जिउँदो खसीबोकाको मूल्य ६६० देखि ६८० रुपियाँसम्म कायम रहेको उहाँले जानकारी दिनुभयो ।

हाल नियमित रूपमा दैनिक आठ सय सङ्ख्यामा उपत्यकामा खसीबोकाको खपत हुने गरेको व्यवसायीको भनाइ छ । घटस्थापनाको दिनदेखि अष्टमीको दिनसम्म बढीमात्रामा खसीबोका बिक्री हुने व्यवसायीको भनाइ छ । दसैँमा सबैले अनिवार्य रूपमा मासुको उपभोग गर्ने भएकाले पनि उपत्यकामा धेरै खसीबोका बिक्री हुने गर्छ । निजी व्यवसायीले गाउँ गाउँमा गएर खसीबोका खरिद गरी उपत्यकामा ल्याएर बिक्री गर्ने गर्छन् । स्थानीय उत्पादनले माग धान्न नसक्दा व्यवसायीले छिमेकी मुलुक भारत र चीनबाट समेत खसीबोका र च्याङ्ग्रा आयात गरेर बिक्री गर्ने गरेका छन् । 

खाद्य कम्पनीले तीन हजार बिक्री गर्ने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँलाई लक्षित गरेर तीन हजार खसीबोका र च्याङ्ग्रा बिक्री गर्ने भएको छ । 

चाडपर्वको बेलामा उपभोक्तालाई सहुलियत मूल्यमा बिक्री गर्नका लागि गाउँ गाउँबाट खरिद गरेर बिक्री गर्ने भएको हो । दसैँमा बजारमा खसीबोकाको खपत धेरै हुने हुँदा निजी व्यवसायीले मनपरी मूल्य लिई उपभोक्ता ठग्न सक्ने हुँदा बजार मूल्य नियन्त्रण गर्न खसीबोका खरिद गरी उपत्यकामा ल्याई बिक्री गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीकी प्रवक्ता शर्मिला न्यौपानेले दुई हजार खसीबोका र एक हजार च्याङ्ग्रा ल्याई बिक्री गर्ने तयारी गरिएको जानकारी दिनुभयो । बजार मूल्य नियन्त्रण गर्नुका साथै उपभोक्तालाई सहुलियत मूल्यमा उपलब्ध गराउन यस वर्ष पनि खसीबोका खरिद गर्ने तयारी गरिररहेको उहाँले जानकारी दिनुभयो । वार्षिक कार्यपालिका अनुसार नै कम्पनीले खसीबोका तथा च्याङ्ग्रा खरिदका लागि बजेट छुट्याएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सरकारले प्रत्येक वर्ष नै सहुलियत पसल र खसीबोका तथा च्याङ्ग्रा खरिद गर्दै आएको छ । 

आठ करोड ३६ लाख रुपियाँ खसीबोका खरिद गर्नका लागि छुट्याएको उहाँले जानकारी दिनुभयो । घटस्थापनाको दिनदेखि उपत्यकामा ल्याएर बिक्री खुला गर्ने तयारी गरेको कम्पनीले जनाएको छ । दाङको तुलसीपुर, मकवानपुरको हैटौँडालगायतका जिल्लाबाट खरिद गरी उपत्यकामा ल्याएर बिक्री गर्ने तयारी गरेको कम्पनीले जनाएको छ । सरकारले दसैँमा उपभोक्तालाई राहत दिन खसीबोका र च्याङ्ग्रामा प्रतिकिलो १० रुपियाँ छुट दिएको छ । घटस्थापनाका दिनदेखि कम्पनीको थापाथलीस्थित प्रादेशिक कार्यालयबाट खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।   गोरखपत्र दैनिकमा समाचार छ ।

प्रकाशित मिति:September 30, 2023