मलेसियालाई सजिलै हराउँदै नेपाल एक खेलअघि नै सेमिफाइनलमा

  Sampatti News Online

October 31, 2023

काठमाडौं । आईसीसी टी–२० क्रिकेट विश्वकप छनोटको आफ्नो दोस्रो खेलमा मलेसियालाई सजिलै हराउँदै घरेलु टोली नेपाल एक खेलअघि नै सेमिफाइनलमा प्रवेश गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले दिएको १६६ रनको लक्ष्य नेपालले १८ ओभर खेल्दै चार विकेटको क्षतिमा भेट्टाएको थियो । नेपालका लागि कुशल मल्ल र कुशल भुर्तेलले आक्रामक ब्याटिङ गरे ।

मल्लले ३४ बलमा ७ छक्का र २ चौकासहित ६५ रन बनाए । ओपनर भुर्तेलले २५ बलमा ४ छक्का र ४ चौकासहित ४३ रन बनाएका थिए ।

अर्का ओपनर आशिफ शेखले २३ बलमा ३२ रन बनाए । कप्तान रोहित पौडेल भने २ रनमै आउट भएका थिए । 

यसपछि आएका सन्दीप जोराले अविजित १८ तथा विवेक यादवले २ रन जोडेपछि नेपालले लक्ष्य भेट्टयो । 

नेपालले ५.२ ओभरमा ५२ रन बनाएको अवस्थामा पहिलो विकेट गुमाएको थियो । 

मलेसियाका मुहम्मद अमिरले सर्वाधिक ३ विकेट लिए । 

त्यसअघि अविनाश बोहराले ४ विकेट लिँदा मलेसियाले ९ विकेट गुमाएर १६५ रन बनाएको थियो । उसका सइद अजिजले सर्वाधिक ६८ रन बनाएका थिए ।

नेपालको जितसँगै समूह ए बाट सेमिफाइनल पुग्ने अर्को टिम ओमान बनेको छ । ओमानले मंगलबार बिहान सिंगापुरविरुद्ध जित निकालेको थियो । पराजयसँगै सिंगापुर र मलेसिया भने बाहिरिएका छन् ।

बुधबार नेपाल र ओमानबीच समूह विजेता र उपविजेताका निम्ति प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति:October 31, 2023