शेयर बजारमा दोहोरो अंकको गिरावट,कारोबार रकम भने बढ्यो

  Sampatti News Online

November 30, 2023

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्ला ३ कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। आज नेप्से १८.०६ अंकले घटेर एक हजार ८ सय ५८ दशमलब ५३ विन्दुमा बन्द भएको हो ।                 

त्यस्तै, आज एक अर्ब ३२ करोड ३५ लाख १९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएकामध्ये ३२ कम्पनीको शेयरमूल्य बढेको छ भने २०१ कम्पनीकोे शेयरमूल्य घटेको छ । ६ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।     

नेप्सेका अनुसार रुरु जलविद्युत परियोजना लिमिटेडको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यस कमनिीको शेयरमूल्य आज ५.६३ प्रतिशतले बढेर प्रतिकित्ता ७५० रुपैयाँ पुगेको छ ।   

त्यस्तै, आज विजय लघुवित्त वित्तीय संस्था, माउन्टेन इनर्जी नेपाल लिमिटेड र युनाइटेड इदिमर्दी आरबी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन नेपाल इन्स्योरेन्सको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन ११ करोड ६७ लाख रुपैयाँ बराबरको संस्थापक शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको ८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने युनाइटेड इदी मार्दीको ५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.११ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.७३ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन वित्त र होटल तथा पर्यटन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।


 

प्रकाशित मिति:November 30, 2023