बालेनको चेतावनी– औषधि पसलहरुमा धेरै कमजोरी देखिए, सुधार नभए बन्द गरिन्छ

  Sampatti News Online

December 6, 2023

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका धेरै औषधि पसल मापदण्ड विपरीत रञ्चालमा रहेको जनाउँदै ती पसललाई मापदण्डमा आउन १० दिनको समय दिएको छ । कामपा स्वास्थ्य विभागले आज सार्वजनिक सूचना जारी गर्दै सो समय दिएको हो ।

महानगर क्षेत्रभित्र सञ्चालित औषधि पसलहरुमा अनधिकृत व्यक्तिहरुबाट औषधि बिक्री वितरण भइरहेको, औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधिसमेत बिक्री वितरण भइरहेको, चिकित्सकको प्रेस्किप्सन बिना औषधि बिक्री वितरण भइरहेको गुनासो आइरहेको बालेनले उल्लेख गरेका छन्।

यस्तै, नार्कोटिक औषधिहरूको प्रचलित ऐन कानुनअनुसार बिक्री वितरण नगरिएको र उक्त औषधीहरूको आवश्यक अभिलेख राख्ने नगरिएको, गुड फार्मेसी प्राक्टिस (जीपीपी)अनुसार औषधि पसल व्यवस्थापन नगरिएको भन्ने गुनासो आएको पनि बालेनको भनाइ छ। 

नागरिकको गुनासोपछि अनुगमन गर्दा औषधि बिक्री वितरणमा धेरै कमजोरीहरु देखिएको बालेनले उल्लेख गरेका छन्। कमजोरीहरु सुधार गरी, प्रचलित कानुन तथा नियमहरुको पालना गरी औषधि बिक्री वितरण गर्न मंसिर २९ गतेसम्मको अल्टिमेटमा दिइएको पनि बालेनले जनाएका छन्। 

सामाजिक सञ्जालमा एक सन्देश लेख्दै बालेनले औषधी पसलहरूले सुधारात्मक कार्यहरू गरेको नपाइएमा त्यस्ता औषधि पसलहरु बन्द गर्ने सम्मको कारबाही गरिने चेतावनी दिएका छन्।  

बालेनले सामाजिक सञ्जालमा लेखेको सन्देश: 
हामी काठमाडौं महानगरपालिकामा बसोबास गर्ने आम मानिसको स्वास्थ्यको लागि निकै संवेदनशील छौँ। यस महानगरपालिकाले नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन विभिन्न सुधारात्मक कार्यहरू गर्दै आइरहेको तपाईंहरूलाई थाहा नै छ। तर आम मानिसको जनस्वास्थ्यमा लापरबाही भएको पाइएको छ। 

काठमाडौं महानगरपालिका भित्र सञ्चालनमा रहेका औषधि पसलहरूमा अनधिकृत व्यक्तिहरूबाट औषधि बिक्री वितरण भइरहेको, औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधि समेत बिक्री वितरण भइरहेको, चिकित्सकको प्रेस्किप्सन बिना औषधि बिक्री वितरण भइरहेको महानगरमा गुनासो आइरहेको छ। 

यसका साथै नार्कोटिक औषधिहरूको प्रचलित ऐन कानुनअनुसार बिक्री वितरण नगरिएको र उक्त औषधिहरूको आवश्यक अभिलेख नराख्ने गरिएको, Good Pharmacy Practice (GPP) अनुसार औषधि पसल व्यवस्थापन नगरिएको, काठमाडौं महानगरपालिका स्वास्थ्य विभागबाट इजाजत पत्र नलिइ सञ्चालनमा रहेको विभिन्न गुनासाहरू आम उपभोक्ताहरूबाट आइरहेको छ। काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागबाट अनुगमन गर्दा समेत उल्लेख भए अनुसार भएको पाइएको छ, यसमा हामी गम्भीर छौँ। त्यसैले हामीले यही महिना (मंसिर)को २९ गते भित्र माथि उल्लेखित सम्पूर्ण कार्यहरू कानुन बमोजिम गर्न यसै सूचनाद्वारा जानकारी गराउन चाहन्छौँ।

अतः माथि उल्लेख भए अनुसारको समयभित्र काठमाडौं महानगरपालिका क्षेत्र भित्र सञ्चालित औषधि पसलहरूले सुधारात्मक कार्यहरू गरेको नपाइएमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (क) ९ तथा काठमाडौं महानगरपालिका जन–स्वास्थ्य ऐन २०८० को दफा २६ (घ) अनुसार स्वास्थ्य विभागबाट अनुगमन भइ काठमाडौं महानगरपालिका जन–स्वास्थ्य ऐन २०८० को दफा ५३ अनुसार औषधि पसल बन्द गर्ने सम्मको कारबाही गरिने बेहोरा सम्बन्धित सबैको जानकारी गराउन चाहन्छौँ। 

यदि यस्तो भए गरेको पाइएमा काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागमा उजुरी गर्न वा महानगरपालिकाको गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र (कल सेन्टर) को  निःशुल्क टोल फ्री नम्बर १६६००१०५५११ वा ११८० मा सम्पर्कमार्फत् महानगरपालिकालाई जानकारी दिन समेत अनुरोध गर्न चाहन्छौँ।

प्रकाशित मिति:December 6, 2023