विद्युत् प्राधिकरणले काट्याे थप १४ वटा उद्योगकाे लाइन

  Sampatti News Online

December 30, 2023

काठमाण्डाै । विगतमा डेडिकेटेड फिडर एवं ट्रंक लाइनबाट विद्युत उपभोग गरेका तर त्यसबापतको प्रिमियमसहितको महसुल नतिरेका उद्योगको विद्युत आपूर्ति बन्द गरिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले पाँच करोड रुपैयाँभन्दा बढी बिद्युत् बक्यौता भएका उद्योगको विद्युत् लाइन काटेको हो।  

गत पुस ६ गतेबाट बक्यौता रहेका ग्राहकहरूको लाइन काट्न सुरु गरेको थियो । पहिलो चरणमा १ अर्ब रुपैयाँभन्दा बढी बक्यौता रहेका ४ वटा उद्योग र त्यसपछि ५ गरी ९ वटा उद्योगको लाइन काटिएको थियो । शुक्रबारका १४ उद्योगसहित डेडिकेटेड फिडर एवं ट्रंकलाइनबाट विद्युत् आपूर्ति लिएर बक्यौता नतिरे पछि लाइन काटिने ग्राहक २३ पुगेका छन् ।

शुक्रबार बाबा जुट मिल (५ करोड ६१ लाख रुपैयाँ), निगाले सिमेन्ट (१४ करोड २१ लाख रुपैयाँ), त्रिवेणी सिन्थेटिक यार्न इन्डस्ट्रिज (१५ करोड ६६ लाख रुपैयाँ), हिमाल आइरन एण्ड स्टील (८ करोड १३ लाख रुपैयाँ), जगदम्बा इन्टरप्राइजेज (४७ करोड ९८ लाख रुपैयाँ), हामा आइरन (११ करोड ५५ लाख रुपैयाँ), एभरेष्ट पेपर मिल (२१ करोड ३६ लाख रुपैयाँ)को लाइन काटिएको छ ।

यसैगरी कसमस सिमेन्ट (३५ करोड ८२ लाख रुपैयाँ), शुभश्री अग्नी सिमेन्ट (३८ करोड १० लाख रुपैयाँ), जगदम्बा सिन्थेटिक (४७ करोड ५३ लाख रुपैयाँ), घराना फुड्स (५ करोड ९ लाख रुपैयाँ), सिद्धार्थ पेटप्लास्ट (५ करोड २४ लाख रुपैयाँ), बुटवल सिमेन्ट (३२ करोड ९८ लाख रुपैयाँ), नारायणी स्पात (७८ करोड ४९ लाख रुपैयाँ) को लाइन काटिएको छ ।

प्रकाशित मिति:December 30, 2023