तलबको माग गर्दै नगरपालिका अगाडी शिक्षक कर्मचारी धर्नामा

  Sampatti News Online

January 3, 2024

रौतहट १८ पुस। रौतहटको फतुवा विजयपुर नगरपालिकामा कार्यरत शिक्षक कर्मचारी तलबको माग गर्दै आजदेखि धर्नामा बसेका छन्। जनप्रतिनिधि बिच आपसी विवादका कारण गत साउन देखि तलब पाउन नसकेका शिक्षक कर्मचारी नगरपालिकाको अगाडी धर्ना सुरु गरेका हुन। नगरक्षेत्र अन्तर्गतका प्रत्येक माबि बाट ३ जना, निमाबी बाट २ जना प्राबि बाट १ जनागरी आजदेखि पालोपालो गरी धर्ना सुरुभएको हो। समस्या समाधान नभएसम्म पहिलो चरणको आन्दोलन स्वरूप दैनिक बिहान ११ बजेदेखि ४ बजेसम्म धर्ना जारिरहने माबी दुधिअवाका शिक्षक रञ्जन खरेलले बताए।

फतुवा बिजयपुर नगरपालिकामा जनप्रतिनिधि बीचको बिवाद चरम उ्कर्षमा पुगेको छ। तत्कालीन मेयर गोपाल राय यादव बिशेष अदालत बाट दण्डित भएर निलम्बित भए संगै कार्यवाहक मेयर खातुन र अन्य जनप्रतिनिधि बीच बिवाद उत्पन्न भएको हो।

जनप्रतिनिधि बीचको विवादको परिणाम समयमा नगरसभा हुन नसकेकाले त्यहाँका शिक्षक कर्मचारीले तलब पाउन सकेका छैनन्।

मन्त्रालयको निर्देशनमा फतुवामा केहीसमय अघि प्रशासकिय अधिकृतको रूपमा आएका उपसचिव सुरेन्द्र प्रधान र मेयर खातुनको प्रयासमा अघिल्लो महिनामा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको थियो।

मेयर खातुनको निर्देशनमा नगरसभाको लागि पटकपटक बैठक बोलाउँदा कांग्रेसका वडा अध्यक्षहरु संगै कार्यपालिका बोर्डका सदस्य जनप्रतिनिधिहरु बिभिन्न आरोप लगाउँदै बैठकमा उपस्थित भएका छैनन्।

असार १० गते भित्र हुनुपर्ने नगर परिषद जनप्रतिनिधि बीच आपसी तालमेल नमिलेको कारण हालसम्म पनि हुन नसक्दा नगरपालिकाको सम्पूर्ण आर्थिक गतिविधि सुन्य भएको छ।

नगरभित्रका शिक्षक लगायत ३५० को हाराहारीमा कर्मचारीले तलब पाउन सकेका छैनन् । कार्यपालिका बोर्ड बैठक बसेर नगरसभाको दिन तोक्न तीनपटक लिखित सूचना पठाउँदा मेयर बाहेक काँग्रेस समर्थित जनप्रतिनिधि वडा अध्यक्षहरु पत्र नै नबुझ्ने गरेकाले अवस्था अन्यौल बनेको उपसचिव प्रधानले गुनासो गरेका छन्।

कांग्रेस पार्टीका एकजना वडा अध्यक्ष राजेश यादवले कार्यवाहक मेयर कांग्रेस पार्टीकै भएकाले पहिले पार्टीभित्र आएर आत्म आलोचना गरेपछि मात्र बैठकमा सहभागि हुने बताउँदै आएका छन।वडा अध्यक्षहरुको बखेडा तथा अवरोधको कारण नगरपालिकाको कामकाज प्रभावित बनाईरहेको कार्यवाहक मेयर अम्बेया खातुनले बताएकी छन्।

लालबकैया नदीको टेन्डरको मुद्दामा अख्तिारद्वारा दोषी ठहर भएर तत्कालीन मेयर गोपाल राय यादव लाई तीन वर्ष कैद र १५ लाख जरिबानाको फैसला बिशेष अदालत बाट भएपछि उनको पद गएको थियो। उनी निलम्बित भएपछि उपमेयर खातुन कार्यवाहकको जिम्मेवारी पाएको थियो। सञ्जय मिश्रा

प्रकाशित मिति:January 3, 2024