लुम्बिनी प्रदेशमा आफ्नै गाडीबाट’ट्रायल’ दिन पाउने व्यवस्था लागू हुने

  Sampatti News Online

January 11, 2024

काठमाण्डौ – लुम्बिनी प्रदेशका सबै यातायात कार्यालयमा आफ्नै गाडीबाट ‘ट्रायल’ दिन पाउने व्यवस्था लागू हुने भएको छ । सेवाग्राहीले आफ्नै गाडी तथा मोटरसाइकल प्रयोग गरेर ‘ट्रायल’ परीक्षा दिन माग गरेअनुसार यो व्यवस्था लागू गर्न यातायात कार्यालयहरूलाई निर्देशन दिएको लुम्बिनी प्रदेशको उद्योग तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ ।

मन्त्रालयअन्तर्गतको श्रम तथा यातायात व्यवस्था महाशाखा प्रमुख राजेन्द्रप्रसाद पन्थीका अनुसार अब सेवाग्राहीले सवारी चालक अनुमतिपत्रको ‘ट्रायल’ दिने क्रममा प्रयोग हुने गाडी स्वेच्छाले प्रयोग गर्न सक्नेछन् । बुधबार लुम्बिनी प्रदेशका सबै यातायात कार्यालयका प्रमुखहरूसँगको छलफलमा उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापाले सेवाग्राहीलाई उनीहरूकै गाडी प्रयोग गर्नका लागि सहजीकरण गरिदिन आग्रह गर्नुभएको हो ।

अब निजी गाडीले नै ‘ट्रायल’ दिन पाउने तर गाडी जाँच गरेर स्वीकृत गर्नुपर्ने व्यवस्था रहेको महाशाखा प्रमुख पन्थीले बताउनुभयो । लाइसेन्स परीक्षा सञ्चालनसम्बन्धीको जिम्मेवारी अहिले पूर्णरूपमा प्रदेश मन्त्रालयअन्तर्गत छ । अहिले लाइसेन्सको लिखित परीक्षामा पास हुन १०० पूर्णाङ्कमा ६० अङ्क ल्याउनुपर्छ रु ट्रायुल परीक्षामा ७० अङ्क कटाए मात्रै पनि पास भइन्छ ।

प्रकाशित मिति:January 11, 2024