विद्यासुन्दरले भरतपुर सरुवा गरेका कोइरालालाई बालेनले गरे निलम्बन

  Sampatti News Online

January 30, 2024

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शिक्षा शाखा प्रमुख सिताराम कोइराला निलम्बनमा परेका छन् । मेयर नै संयोजक रहने समितिले नगरेको निर्णयलाई ‘निर्णय भएको’ भनेर पत्र लेखेपछि कोइरालालाई निलम्बन गरिएको हो ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले कोइरालालाई ७ दिने स्पष्टिकरण सोध्दै निलम्बन गरेका हुन् । कोइरालाले महानगरको नगर शिक्षा समितिको निर्णय भन्दै काठमाडौँको बानेश्वरमा रहेको रत्नराज्य स्कुललाई प्लस टु चलाउने अनुमति दिएको आरोप छ । सो स्कुललाई प्लस टु चलाउन महानगरले अनुमति नदिए पनि कोइरालाले अनुमति भएको पत्र बुझाएका बताइएको छ ।

‘रत्नराज्य स्कुललाई विज्ञान विषयको प्लस टु चलाउन अनुमतिपत्र दिनु भएछ । नगर शिक्षा समितिको निर्णय अनुसार अनुमति दिइएको भनिएको रहेछ । सो समितिको संयोजक मेयर आफै रहने व्यवस्था रहेछ । निर्णय नै नभएको विषयमा निर्णय भएको भनेर उहाँले पत्र पठाउनु भएको पाइएपछि स्पष्टिकरण सोधिएको छ । काठमाडौँ महानगरपालिकाका स्रोतका अनुसार अहिले उहाँ निलम्बनमा हुनुहुन्छ ।

कोइरालाले अनुमति दिएपछि रत्नराज्यले प्लस टुमा २२ जना विद्यार्थी भर्ना गरेर अध्यापन गराउन थालिएको छ । महानगरले कोइरालामाथि कारबाही थालेपछि उनले ‘किर्ते पत्र पठाएर दिएको अनुमति’ के हुने र अहिले अध्ययन गरिरहेका विद्यार्थीको भविष्य के हुने भन्ने प्रश्न खडा भएको छ । मेयर शाह र कोइरालाको टुनिङ मिल्ने गरेको भएपनि आफै संयोजक भएको समितिबाट नभएको निर्णयलाई भनेको भनेर अनुमति दिन थालेपछि मेयर असन्तुष्ट बनेका हुन् । कोइरालालाई प्रमुख प्रशासकीय अधिकृत नभएको समयमा कार्यवाहक दिने गरिएको थियो । यसअघिका प्रमुख प्रकाशकीय अधिकृत वसन्त अधिकारी र मेयर शाहबीच विवाद भएको समयमा पनि कोइरालालाई नै कार्यवाहक प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको थियो ।

यसअघिका मेयर विद्यासुन्दर शाक्यको कार्यकालमा पनि उनी विवादमा परेका थिए । शाक्य मेयर भएर आएपछि कोइराला शिक्षा शाखामा आएका थिए । तर, मेयर शाक्य र उनको बीचमा विवाद भएपछि कोइराला सरुवा भएर भरतपुर महानगर पुगेका थिए । त्यसपछि उनी बर्दिबास नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर गएका थिए ।

शाक्य मेयर भएपछि सिताराम सर शिक्षा शाखामा सरुवा भएर आउनु भएको थियो । पछि उहाँहरुबीच के विषयमा कुरा मिलने भन्ने थाहा भएन । त्यसपछि कोइराला सर सरुवा भएर भरतपुर महानगर पुग्नुभयो । त्यसको केही पछि उहाँ बर्दिबास नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पनि हुनुभयो । बालेन शाह मेयर निर्वाचित भएर आएपछि उहाँ फेरि शिक्षा शाखामा फर्किनु भएको थियो,’ काठमाडौँ महानगरका एक कर्मचारीले  भने ।

प्रकाशित मिति:January 30, 2024