नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने बढ्यो

  Sampatti News Online

February 29, 2024

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज (बिहीबार) पूँजीबजार नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से) सूचक २८.६८ अंक घटेर १९७२.०९ विन्दुमा झरेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन २ अर्ब ३ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०९ स्टकको ४८ हजार ३४९ पटकको कारोबारमा २ अर्ब ५९ करोड ८७ लाख ३७ हजार रुपैयाँ बराबरको ७४ लाख ४६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४.७९ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.८८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४० अंक घटेको छ।

पछिल्लो समय मनोवैज्ञानिक विन्दु भनिएको २००० बिन्दुबाट नेप्से स्वाट्टै तल झरेको हो । हिजो ०.८७ अंकले घट्दा नेप्से २०००.७७ बिन्दुमा अडिएको थियो । २२० कम्पनीका शेयरधनीले घाटा ब्यहोरेका छन्‌ । बिहीबार भएको कारोबारमा जम्मा १७ कम्पनीको मात्रै शेयरमूल्य बढेको छ । ११ वटा कम्पनीको शेयरमूल्य स्थिर छ ।

जसमा बोटलर्स नेपाल बालाजु लिमिटेड र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा क्रमशः १० र ९.८६ प्रतिशत सर्वाधिक वृद्धि भएको छ । आजको कारोबारमा जोशी हाइड्रोपावर र अपर अपर स्याङ्गे हाइड्रोपावरका शेयरधनीले क्रमशः १० र ८‍.६२ प्रतिशत मूल्य गुमाएका छन्‌ । 

बिहीबार सर्वाधिक बढी शेयर कारोबारमूल्य सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको रहेको छ, जुन कम्पनीको ११ करोड १३ लाख १० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

बजारमा गिरावट आए पनि अघिल्लो दिनको भन्दा कारोबार रकम भने केही बढेको छ । बुधबार २ अर्ब ३ करोडको कारोबार भएकोमा बिहीबार २ अर्ब ५९ करोड ८७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक ३.२१ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन होटल तथा पर्यटन, जलविद्युत र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, लगानी, जीवन बीमा, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

प्रकाशित मिति:February 29, 2024