नेपाललाई पराजित गरी नेदरल्याण्डसले जित्यो टी-२० सिरिजको उपाधि

  Sampatti News

March 5, 2024

काठमाडौं । नेपाल घरेलु मैदानमा टी–२० आई त्रिदेशीय सिरिजको उपाधि जित्न असफल भएको छ । त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा नेपाल नेदरल्याण्ड्ससँग ४ विकेटले पराजित भयो ।

जितका लागि पाएको १८५ रनको लक्ष्य नेदरल्याण्ड्सले खेल सकिन ३ बल बाँकी छँदा भेट्टायो । नेदरल्याण्ड्सका माइकल लेभिटले अर्धशतक पूरा गरे । लेभिटले २९ बलमा ६ चौका र ३ छक्काको सहयोगमा ५४ रन बनाएका थिए ।

स्याब्रान्ड एंगेलब्रेक्ट भने अर्धशतक पूरा गर्नबाट २ रनले चुके । २९ बलमा ४ चौका र ३ छक्का हानेका उनले ४८ रन बनाए ।म्याक्स ओडाउड व्यक्तिगत २३ रनमा आउट भए । कुशल मल्लले ४ विकेट लिए पनि नेपाललाई जिताउन सकेनन् ।

टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनायो। आक्रामक सुरुवात गरे पनि अन्तिमतिर लगातार विकेट गुमाउँदा २०० रन पार गर्न सकेन। 

नेपालका लागि आशिफ शेखले सर्वाधिक ४७ रनको योगदान दिए। यस्तै गुलशन झाले ३४, कुशल मल्लले २६, रोहित पौडेलले २५ र कुशल भुर्तेलले २० रन जोडे। 

करण केसीले ९ रन जोड्दा सोमपाल कामी र प्रतीश जिसीले नटआउट ६/६ रन जोडे। दीपेन्द्र सिंह ऐरीले १ रन तथा आरिफ शेख शून्य रनमै आउट भए। 

नेदरल्यान्ड्सका लागि साइब्रान्ड एंगलब्रेच्ट, माइकल लेविट, टीम भानडर गुटेन र क्लासनले समान २/२ विकेट लिए।

प्रकाशित मिति:March 5, 2024