गृह सचिव अर्यालको प्रतिवद्धता : गृह प्रशासनको मनोबल र साख उच्च बनाउन दत्तचित्त भएर लाग्नेछु

  Sampatti News

March 14, 2024

काठमाडौं । नवनियुक्त गृह सचिव एकनारायण अर्यालले पदबहाली गरेका छन् । बुधबार गृह मन्त्रालयमा पुगेर उनले पदबहाली गरेका हुन् ।

गृह मन्त्रालयमा प्रवेश गर्नुअघि अर्याललाई प्रहरी प्रमुखहरु, मन्त्रालयका महाशाखा प्रमुखहरु, काठमाडौँ, भक्तपुर र ललितपुर लगायत जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा कर्मचारीहरुले भव्य स्वागत गरेका थिए ।

पदबहाली गरेसँगै मन्त्रालयद्धारा आयोजित स्वागत कार्यक्रममा नवनियुक्त गृह सचिव अर्यालले गृह प्रशासनको गुम्दै गएको मनोबल र साख उच्च बनाउन आफू दत्तचित्त भएर लाग्ने प्रतिवद्धता जनाएका छन् । उनले भने, ‘अब तपाईँहरूले कुनै मानेमा पनि ‘डिमरलाइज’ हुन पर्दैन, तपाईँहरूको मनोबल उकास्ने गरी म काममा समर्पित हुनेछु र गृह प्रशासनको साख उच्चो बनाउनेछु । ’

गृह सचिव अर्यालले आफू टिमवर्कमा काम गर्ने र सबैको सहयोगकाे अपेक्षा गरे । उनले अन्य मन्त्रालयको क्षेत्राधिकारमा नपर्ने सबै विषय गृह मन्त्रालयले हेर्नुपर्ने भएकाले सोही अनुसार गृह प्रशासनलाई चुस्त दुरुस्त बनाएर अगाडि बढ्नुपर्ने चुनौती रहेको बताए । ‘हामीले अन्य मन्त्रालय र उसको कामलाई समेत गाइड गर्नुपर्ने हुन्छ, त्यसैले गृह मन्त्रालयको जिम्मेवारी र संवेदनशीलतालाई हेरेर सबै जना सोही अनुसार अनुशासित भएर टिमवर्कमा खट्नुपर्छ, र परिणाम निकाल्न सक्नुपर्छ । ’गृह सचिव अर्यालले भने ।

उनले गृह प्रशासन व्यवस्थित चेन अफ कमान्डमा चल्नुपर्ने र सबै जना एउटै भ्यालुमा हिँड्नुपर्ने आवश्यकता औँल्याए । ‘अब यहाँ कसैले कसैको कुरा काट्ने छुट छैन, गृह प्रशासनमा रहेका सबै जना सेवा प्रवाह प्रभावकारी बनाउन र शान्ति सुरक्षा कायम गराउने विषयमा एकजुट भएर अगाडि बढ्नुपर्छ ।

’गृह सचिव अर्यालले सबै कर्मचारी एकतावद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउदै भने । गृह सचिव अर्यालले केहि समय यता देखि गृह प्रशासन कमजोर हुँदै आएकाले अब आफुले गृहप्रशासनलाई कुनै हालतमा पनि कमजोर हुन नदिने र त्यसका लागि सबै पक्षको सहयोग र साथ आवश्यक पर्ने बताए । ‘सबैले स्वीकार्नुपर्छ, केहि समय यता गृह प्रशासन कमजोर भएकै हो, बद्नाम भएकै हो, अब त्यस्तो अवस्था आउन दिइने छैन् । ’गृह सचिव अर्यालको प्रतिवद्धता थियो ।

यस्ता छन् गृह सचिवका १२ प्रतिबद्धता :

–अब गृह प्रशासनको साख उच्चो बनाइने
–पूर्ण रूपमा टिमवर्कमा काम गरेर परिणाम निकालिने
–गृह प्रशासनलाई एकताबद्ध बनाइने
–गृह प्रशासनलाई पूर्ण रूपमा चेनअफ कमान्डमा राखिने
–चेनअफ कमान्ड विपरीत हिँड्नेलाई कारबाही गरिने
–सरुवा , बढुवा र पदस्थापनमा सोर्सफोर्स लगाउनेहरू कारबाहीमा पर्ने
–गृह प्रशासनमा व्याप्त बिचौलियावाद र माफियावादको अन्त गरिने
–राजश्व वृद्धिमा पनि सशक्त योगदान गरिने
–समस्या समाधान गर्न तत्काल एक्सन प्लान बनाइने
–सिडिओ सरुवाको निश्चित मापदण्ड बनाइने
–कार्यसम्पादनमा उत्कृष्टता ल्याउने
–राजनीतिक दबाब अस्वीकार्य

अर्याल गृहका अनुभवी र निर्णय क्षमतामा अब्बल मानिन्छन्। अर्यालले यसअघि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सचिवको रूपमा रहेर पनि प्रभावकारी कार्य गरिसकेका छन् ।

पछिल्लो पटक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहँदा उनले सुशासन, विकास निर्माण र सेवा प्रवाह प्रभावकारी बनाउने विषयमा महत्वपूर्ण कार्ययोजना ल्याएका थिए । त्यसैले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल उनीसँग सन्तुष्ट रहेकाे बताइन्छ।

प्रकाशित मिति:March 14, 2024