हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका ४ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर

  Sampatti News

March 21, 2024

काठमाडौं । हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका ४ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको छ । सम्पत्ति शुद्धीकरण विभागले बुधबार विशेष अदालतम ४ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

हुण्डी कारोबारको आरोपमा पक्राउ परेका नरेश अग्रवाल, दीपक शाह ठकुरी, मनमोहन साह कलवार र दिवस कार्कीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

राजश्व अनुसन्धान विभागबाट समेत अमेरिकी डलर र नेपाली रुपैयाँको स्रोत नखुलेको भन्दै उनीहरूलाई कारबाहीका लागि सम्पत्ति शुद्धीकरण विभाग पठाएको थियो । जसमा नरेश अग्रवालले ८ करोड ६२ लाख ८५ हजार १५२ रुपैयाँको कारोबार देखिएकोले सोही बमोजिम बिगो कायम गर्दै मुद्दा दायर गरिएको छ ।

अर्का प्रतिवादी दिवस कार्कीविरुद्ध ७ करोड १२ लाख २० हजार २९२ रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरिएको छ ।

प्रतिवादी दीपक शाह ठकुरीले ८ करोड ८२ लाख ३९ हजार ५६५ रुपैयाँ बराबरको कारोबार गरेको देखिएको भन्दै सोही बमोजिम बिगो मागदाबी गरिएको छ ।

मनोहर साह कलवारको हकमा ३ करोड ७५ लाख २९ हजार ८१५ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

नरेश अग्रवालको नाममा दर्ता भएको बा१९च १०१७ नम्बरको १ थान सवारी साधन तथा प्रतिवादीहरूबाट बरामद भएका रकम समेत जफतका लागि मागदाबी गरिएको छ ।

प्रकाशित मिति:March 21, 2024