चैत महिनासम्म यति धेरैले लिए श्रम स्वीकृति

  Sampatti News Online

April 19, 2024


काठमाण्डौँ । चालू आर्थिक वर्षको चैत महिनासम्म करिब साढे पाँच लाखजनाले श्रम स्वीकृति लिएका छन् । चैत महिनामा मात्र ७० हजार नौ सय ३३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका हुन् ।
श्रम स्वीकृति लिनेमा ६४ हजार दुई सय ४१ जना पुरुष र ६ हजार ६ सय ९२ महिला रहेको वैदेशिक रोजगार विभागका निर्देशक एवं सूचना अधिकारी कविराज उप्रेतीले जानकारी दिए ।
उप्रेतीका अनुसार श्रम स्वीकृति लिनेमध्ये १३ हजार तीन सय ७३ जना अदक्ष अर्थात सीप नभएका, ५१ हजार तीन सय २८ जना सीप भएका, पाँच हजार छ सय ८४ जना अर्धदक्ष, चार सय ८२ जना व्यावसायिक दक्षता र ६६ जना उच्च दक्ष रहेका छन् ।
यसैगरी, चालू आवको साउनमा ५५ हजार पाँच सय ७५, भदौमा ५० हजार आठ सय ८४, असोजमा ५६ हजार दुई सय ३५, कात्तिकमा ४३ हजार छ सय २२, मंसिरमा ७१ हजार दुई सय ७६, पुसमा ६५ हजार आठ सय १३, माघमा ६२ हजार एक सय ४७ र फागुनमा ६५ हजार ६ सय ५८ जनाले श्रम स्वीकृति लिएर विदेश गएका विभागको तथ्यांकमा उल्लेख गरिएको छ।
विभागको तथ्यांकअनुसार चैतमा मात्रै १७ हजार आठ सय १८ जना नेपाली रोजगारीका लागि युएई पुगेका छन् ।

प्रकाशित मिति:April 19, 2024