‘गणतन्त्र गौरव सम्मान’ पूर्वराष्ट्रपति भण्डारीलाई

  Sampatti News

April 22, 2024

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव सम्मान’ प्रदान गर्ने भएको छ । ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा आज सम्पन्न एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकले एमाले पार्टीका पूर्वउपाध्यक्ष रहेका भण्डारीलाई सम्मान गर्ने प्रस्ताव पारित गरेको एमालेका पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईले जानकारी दिए ।

नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको ७५औँ बर्ष (हीरक महोत्सव)का अवसरमा यही वैशाख १० गते हुने विशेष समारोहमा उक्त सम्मान पूर्वराष्ट्रपति भण्डारीलाई प्रदान गरिने छ । 

एमालेले कम्युनिष्ट पार्टी स्थापना भएको अवसरमा विशेष समारोहको आयोजना गर्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार महोत्सवको प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेका छन्। महोत्सवमा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरवहादुर देउवालगायत विभिन्न राजनीतिक दलका प्रमुख नेताहरुले सम्बोधन गर्ने जनाइएको छ ।

प्रकाशित मिति:April 22, 2024