बजुरामा खानेपानीको हाहाकार

  Sampatti News Online

April 24, 2024


बाजुरा ।
बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका वडा नम्बर ७, सेरकाटिया दलित बस्तीमा खानेपानीको हाहाकार भएको छ  । २०५० सालमा निर्माण भएको भैँसापानी प्याउना खानेपानी योजनाले बस्तीमा पानी सुविधा दिएको थियो ।
पछिल्लो समय उक्त खानेपानी योजनाको मर्मतसम्भार नहुँदा पाइपलाइन फुटेर बिग्रिँदै गएपछि खानेपानीको अभाव भएको हो । परिवारको सङ्ख्या धेरै र खानेपानीको धारा कम भएको र धारा पनि बिग्रिँदै गएपछि दलित बस्तीमा खानेपानी समस्या देखिएको स्थानीय जसवीर विकले बताए  ।
उनका अनुसार गाउँमा पानीका धेरै धारा छन्, पानी भने कहिल्यै नआउने गरेकाले ६० घरपरिवारलाई खानेपानीको अभाव झेल्नु परेको हो । सरकारले ‘एक घर एक धारा’ निर्माण गरे पनि पानी नआउने गरेको गुनासो स्थानीयको छ । गाउँघर सरसफाइ अभियानसँगै दलित बस्तीका सबै परिवारले घर घरमा शौचालय निर्माण गरेका छन् । घरको अगाडि निर्माण गरेका खानेपानीको धारामा पानी नआउँदा ती शौचालयसमेत फोहोर बन्न थालेको विकले बताए ।
गाई, भैँसीका लागि खोलाको पानी भए पनि स्थानीयलाई पिउनयोग्य सफा खानेपानीको अभाव देखिएको छ । थानीय दलबहादुर विक भने, “घर घरमा धारा त छन् तर पानी आउँदैन ।” उक्त बस्तीमा खानेपानी मर्मतसम्भारका लागि तीन पटक रकम विनियोजन गरेको वडाध्यक्ष अशोकबहादुर दानीले बताए  ।
पछिल्ला चैत्र, बैशाख र जेठ माहिना गरी यी ३ महिनाको समयमा सुदूरपश्चिमका सबैजसो ठाउँमा खानेपानीको हाहाकार हुने गरेको छ ।

प्रकाशित मिति:April 24, 2024