नौ लाख घरधुरीमा जोडियो वर्ल्डलिंकको इन्टरनेट

  Sampatti News

April 25, 2024

काठमाडौं । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख नाघेको छ ।

सन् १९९५ अर्थात २९ वर्षअघि स्थापनाभएको वल्डलिंकले हालै ग्राहक सङ्ख्यामा यो नयाँ उचाइ हासिल गरेको हो ।

आजभन्दा २९ वर्षअघि कम्पनीका संस्थापक दिलीप अग्रवालले अमेरिकाबाट ल्याएको एउटा कम्प्युटर र ईमेल सर्भरबाट वर्ल्डलिंकको यात्रा सुरु भएको थियो ।

नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमति प्राप्त गरी सेवा विस्तारमा लागेको कम्पनीले २०७४ सालको जेठमा एक लाख ग्राहकलाई इन्टरनेट कनेक्सन उपलब्ध गराउन सफल भएको थियो ।

२०७५ साल जेठसम्म आइपुग्दा कम्पनीका ग्राहक दुई लाख नाघेका थिए भने सोही वर्षको माघ महिनामा अर्को आंकडा पार गर्दै कम्पनीले तीन लाख ग्राहकलाई आफ्नो नेटवर्कमा जोड्न सफल भएको थियो ।

यसरी निरन्तर रूपमा सेवा विस्तारसँगै ग्राहकलाई सेवा उपलब्ध गराउने क्रममा कम्पनीले २०८० भदौ महिनामा आठ लाख र त्यसको एक वर्ष नपुग्दै वर्ल्डलिंकले अर्को नयाँ उचाइ छोएको हो । यसरी कम्पनीले पछिल्लो नौ महिनाको अवधिमा थप एक लाख ग्राहक बढाएको हो ।

‘नौ लाख घरधुरीको कोसेढुंगा पार गर्नु भनेको वर्ल्डलिंकको सेवा प्रति ग्राहकहरूले देखाउनु भएको विश्वासको प्रमाण हो,’ कम्पनीका सीईओ केशव नेपालले भने, ‘यो कोसेढुंगा हाम्रो सेवामा ग्राहकले देखाएको विश्वासको प्रमाण हो । ग्राहकलाई थप प्रभवकारी र गुणस्तरीय सेवा उपलब्ध गराउन सेवा र क्षमतालाई थप विस्तार गर्न हामी प्रतिबद्ध छौं ।’

घरायसी, साना तथा मझौला व्यवसाय तथा कर्पोरेट गरी विभिन्न प्याकेजमा ग्राहकको आवश्यक्ता अनुसार सहुलियत दरमा कम्पनीले गुणस्तरीय सेवा उपलब्ध गराउँदै आएको छ ।

दुई वर्ष अघि वर्ल्डलिंकले ठूलो विदेशी लगानी भित्र्याउन सफल भएको थियो । जुन नेपालको इन्टरनेट सेवा प्रदायक मध्येको पहिलो र एक मात्र कम्पनी हो । कम्पनीले ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्ट (बीआईआई) र डोल्मा इम्प्याक्ट फन्ड (डीआईएफआईआई) मार्फत विदेशी लगानी भित्र्याएको छ ।

विदेशी लगानी भित्रिएसँगै कम्पनीले देशव्यापी रूपमा गुणस्तरीय सेवा विस्तारका साथै कर्मचारीहरूको सिप अभिवृद्धिमा समेत ठूलो लगानी गरिरहेको छ ।

आजका दिनमा वर्ल्डलिंक देशको सबैभन्दा ठूलो रोजगारदताको रूपमा समेत स्थापित भइसकेको छ ।

हाल वर्ल्डलिंकमा ५३ सय भन्दा बढी कर्मचारी कार्यरत रहेका छन् । कुल १३० शाखा मार्फत कम्पनीले देशका सातै प्रदेशका ७३ जिल्लामा इन्टरनेट उपलब्ध गराइरहेको छ । बाँकी रहेका ४ जिल्लामा समेत चाँडै नै आफ्नो सेवा विस्तार गर्ने कम्पनीले जनाएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार हाल कम्पनीले नेपालको कुल इन्टरनेट बजारको ३५ प्रतिशत बजार हिस्सा ओगट्ने गरेको छ भने हाल देशको कुल इन्टरनेट ट्राफिक मध्ये ४० प्रतिशत वर्ल्डलिंकमार्फत नै प्रवाह हुने गरेको छ ।

कम्पनीले देशका १४ हजारभन्दा बढी स्थानमा वाईफाई एक्सप्रेसमार्फत फ्री वाईफाई समेत उपलब्ध गराइरहेको छ ।

प्रकाशित मिति:April 25, 2024