सिङगामा व्यावसायिक फूलखेती

  Sampatti News

November 3, 2021

म्याग्दीको बेनी नगरपालिका–४ सिङगामा व्यावसायिक फूलखेती गरिएको छ ।

तिहार पर्व र जिल्लामा आयोजना हुने कार्यक्रमलाई लक्षित गरेर हरियाली ग्रुप प्रालिले व्यावसायिक फूल उत्पादन गरेको हो ।

आँगेबगर र सिङ्गामा दुई÷दुई रोपनी क्षेत्रफलमा फूलखेती गरिएको हरियाली ग्रुप प्रालिका सञ्चालक शेरबहादुर केसीले बताउनुभयो ।

बागलुङ, बेनी, कुश्माको बजार र सिङ्गा आसपासका क्षेत्रमा प्रतिकिलो रु तीन सयका दरले फूल बिक्री सुरु गरेका छन् ।

सिङ्गा र वरपरका ठाउँबाट तिहारका लागि फूलको अत्याधिक माग आएको सञ्चालक केसीले बताउनुभयो ।

हरियालीले विगत तीन वर्षदेखि व्यावसायिक फूलखेती गर्दै आएको छ । यसअघिका वर्षमा उन्नत जातको सयपत्री फूलखेती गरेको थियो ।

यसवर्ष धेरै समय टिक्ने स्थानीय सयपत्री जातको बिरुवा लगाएका छन् । उत्पादन र बिक्री राम्रो भएको सञ्चालक केसीले बताउनुभयो ।

अघिल्ला वर्षमा एकदेखि डेढलाख मूल्य बराबरको फूल बेचेको फार्मले यसपाली अझ बढी बिक्री हुने अनुमान गरेको छ ।

तिहारमा पूजाआजा र माला बनाउन फूलको प्रयोग हुन्छ ।

अन्य समय पूजाआजाका साथै सभा समारोह आयोजना गर्दा पनि अतिथिलाई स्वागत गर्न माला लगाईदिँदा फूल आवश्यक पर्छ ।

बेनी बजार र आसपासका क्षेत्रमा घरायसी प्रयोजनका लागि लगाएको फूलको बोटबाट बढी उत्पादन भएमा मात्र फूल बेच्ने चलन छ ।

केही वर्षयता तिहारमा बजार वरपरका ग्रामीण क्षेत्रका किसानले फूल बेच्न आउन थालेका छन् ।

प्रकाशित मिति:November 3, 2021