राजसंस्था पूनस्थापित नभई जनताले राहात पाउदैनन्

  Sampatti News

November 26, 2021

राजसंस्था पूनस्थापित नभई जनताले राहात पाउदैनन्


राष्ट्रिय प्रजातन्त्र पार्टी, ललितपुर महानगरपालिका अध्यक्ष दिनेश थापामगरसँगको सानो संवाद

मुलुकको समसामयिक राजनीतिक अवस्थालाई यहाँले कसरी लिनुभएको छ ?

मुलुकको अवस्था अन्यौलपूर्ण छ, जनताको अपेक्षा अनुसारको काम सरकारबाट भएको छैन ।

प्रमुख राजनीतिक दलहरु पार्टीगत स्वार्थमा मात्र रुमलिरहेका छन् । जनताको आवाजको कुनै सुनुवाई भएको छैन ।

सत्ता गठबन्धनले त काम गरेन गरेन, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सरकारलाई घच्घच्याएको छैन ।

त्यसैले देशमा व्यापक भ्रष्टाचार भएको सुन्नमा देख्नमा आएको छ ।

देश यसरी वेथितिमा आउनुलाई राप्रपाजस्ता राष्ट्रवादी पार्टी सत्तामा नरहनु नै हो ।

हामीले सकेसम्म सरकारका गलत क्रियाकलापको विरुद्ध आवाज उठाई रहेका छौं । सरकार कानमा तेल हालेर बसेको देखिन्छ ।

त्यसैले स्पष्ट रुपमा भन्दा राजसंस्था पूनस्थापित नभई जनताले राहात पाउन सक्दैनन् ।

त्यसो त राप्रपाको वटम लाइन नै संवैधानिक राजतन्त्र र हिन्दु राज्य हो । यहि सिद्धान्त र विचारबाट जनताले सर्वसुलभ न्याय पाउँछन् ।

हामी स्पष्ट बहुमत सहित सत्तामा पुग्यौ भने भ्रष्टाचार रोकिन्छ, युवक, महिला, जनजाति लगायत सबैको यो आफ्नो सरकार हो भन्न पाउनेछन् ।

त्यसैले ‘राप्रपाको सरकार हाम्रो सरकार’ भन्ने जनतालाई अनुभुत गराउन राप्रपा सत्तामा जानै पर्छ ।

संवैधानिक राजतन्त्र र हिन्दु राज्य पूनस्थापित नभई जनताले सुख पाउने मैले देख्दिन ।

जसरी राजा ज्ञानेन्द्र जनताको समस्या बुझ्न घर दैलो गरेका थिए र राज्यबाट दिने सेवा सुविधा दिलाई रहेका थिए, त्यही बीचमा राजा ज्ञानेन्द्रलाई सम्पूर्ण रुपमा शासन छोड्नु पर्ने अवस्था आयो ।

राजा ज्ञानेन्द्र विरुद्धको आन्दोलन दबाउन उहाँबाट कुनै प्रतिकार भएन । स्वविवेकीय रुपमा गद्दी त्याग गर्नु भयो ।

यति बेला ९० प्रतिशत हिन्दुहरुले पुरानो अवस्थालाई सम्झदै राजतन्त्रको पक्षमा जनमत बढाउँदै छन् ।

वर्तमान सरकारलाई यहाँले कसरी मूल्यांकन गर्नु भएको छ ?

प्रधानमन्त्री शेरबहादुर देउवा पटक पटक प्रधानमन्त्री भए । पटक–पटक असफल पनि हुँदै आएका छन् ।

यस पटक पनि राम्रो काम गरेको देखिदैन । त्यसैले राम्रो काम गर्न देउवालाई घच्घच्याउनु पर्छ ।

देउवा काँग्रेसभित्रै राजनीतिमा समलिरहेको देखिन्छ । देउवाले राम्रोसँग सरकार संचालन नै गर्न सकेनन् ।

दुःखको कुरा देउवाको इतिहास जस्तो भए पनि उनको भाग्यले पटक सरकार संचालन गर्ने अवसर पाइरहेका छन् ।

राप्रपाको वटमलाइन राजतन्त्र र हिन्दु राज्य हो तर यस विषयमा यतिबेला राप्रपाले कुनै कार्यक्रम किन नगरेको होला ?

राप्रपाले संवैधानिक राजतन्त्र र हिन्दु राज्यकोबारेमा बुलन्द आवाज उठाइरहेको छ ।

पार्टी महाधिवेशनको काममा लाग्नु परेकोले त्यस विषयमा अलि ध्यान दिन गाह्रो परिरहेको छ ।

अब महाधिवेशन सम्पन्न भइसकेपछि हामी हाम्रो एजेण्डा लिएर फेरि जनताको घरदैलोमा पुग्ने छौ ।

आवश्यक परे सडक संघर्ष समेत गर्ने छौं । त्यसैले राप्रपाले हिन्दु राज्य र राजतन्त्र कुनै हालतमा छोड्दैन ।

केहि पहिला हामीले संवैधानिक राजतन्त्र र हिन्दु राज्यको आवाज लिएर मेचि महाकाली विभिन्न कार्यक्रम गरेका थियौं ।

देशव्यापी रुपमा भइरहेको मुल्य वृद्धिलाई यहाँकसरी लिनु भएको छ ?

मुल्यवृद्धि गरेर तीन तहका सरकारले जनताको ढाड सक्ने काम भइरहेको छ ।

यसले के देखाउँछ भने काँग्रेस नेतृत्व सरकार जनताप्रति जिम्मेदार छैन भन्ने स्पष्ट देखिन्छ ।

पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि विरुद्धमा विभिन्न विद्यार्थी संगठनहरुले गरेको आन्दोलन स्वागत योग्य छ ।

पेट्रोलियम पदार्थमा मात्र मुल्य वृद्धि भएको होइन ।

खाद्यान्न, लत्ताकपडादेखि जनताको सरोकारका मालसामाग्रीमा पनि मूल्य वृद्धि भइरहेको छ ।

तर, सरकारी निकायबाट भरपर्दाे अनुगमन भएको देखिँदैन ।

राप्रपाको महाधिवेशनलाई यहाँले कसरी लिनु भएको छ ?

यो महाधिवेशन राप्रपाको मात्र नभई सारा देशभक्त नागरिकहरुको एकता महाधिवेशन पनि हो ।

यहाँ सारा देशभक्त, राजभक्तहरुको समेत सहभागिता हुनेछ ।

तपाई महाधिवेशनमा कुन प्यानलमा लागु हुन्छ ?

म कुनै प्यानलमा छैन । पार्टीमा सर्वसम्मत नेतृत्व चयन होस् भन्ने मरो मनसाय छ । पार्टीमा युवा पङ्तिले उचित अवसर पाउनु पर्छ भने मेरो विचार छ ।

एमाले फुटलाई यहाँले कसरी लिनु भएको छ ?

कुनै पार्टी फुट्नु हुन्न, तर फुटिरहेका छन् । एमाले फुटले ‘भाई भाई फुटे गद्दार लुटे’ भने झै देखिन्छ ।

पार्टी फुटले कति असर परेको रहेछ आगामी निर्वाचन परिणाम देखाउने छ ।

राप्रपामा शिक्षा लिने हो भने एमाले नफुटेरै निर्वाचनमा भाग लिँदा नै राम्रो थियो, छ ।

काँग्रेसलाई चाही कसरी लिनु भएको छ ?

काँग्रेस विपी थपमा हिडेको देखिँदैन । नेताहरु आ–आफ्नै स्वार्थमा हिडिरेका छन् । पार्टीमा व्यापक गुटबन्दी छ ।

त्यसले गर्दा काँग्रेस पनि त्यति बलियो छ भन्ने अवस्था छैन ।

काँग्रेस सत्ताको दुरुपयोग गरेर व्यापारीहरुसँग चन्दा लिएर निर्वाचन जित्ने सोचमा रहेको देखिन्छ ।

माओवादी केन्द्रलाई चाही कसरी नियाल्नु भएको छ ?

माओवादी पनि भित्री रुपमा गुटबन्दी नै छ ।

वादलहरु एमालेमा गएका छन्, त्यसैले के देखिन्छ भने काँग्रेस एमालेमा जस्तै माओवादी केन्द्रमा पनि एकता देखिँदैन ।

अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) बारे तपाईकोविचार वताइ दिनुस् न?

विभिन्न पार्टीका नेतादेखि बुद्धिजिविहरुको भनाइले के पुष्टी गरेको छ भने एमसिसी नेपालको हितमा हैन ।

कोही एमसिसी पास गर्नु पर्छ भनिरहेका छैन, कोही यहि रुपमा एमसिसी पारित गर्नु हुन्न भनिरहेका छन् ।

मैले पनि बुझे अनुसार एमसिसी अहिलेकै अवस्थामा पारित गरिए त्यो राष्ट्रहितको पक्षमा हुने छैन ।

अन्तमा देशवासीलाई तपाईको सन्देश ?

राप्रपा महाधिवेशनको महाअभियानमा छ । हामी महाधिवेशन पछि तपाईहरुको घर दैलोमा एकतावद्ध भएर आउने छौं ।

मलाई लाग्छ राप्रपाको आगामी निर्वाचनमा राम्रो परिणाम आउने छ ।

राप्रपालाई जिताउन समस्त देशभक्त राजभक्त र हिन्दुवादीहरुलाई हार्दिक आव्यहान गर्दछु ।

राजसंस्था पूनस्थापित नभई जनताले राहात पाउदैनन्

प्रकाशित मिति:November 26, 2021