मुस्ताङमा हिमपात

  Sampatti News

December 3, 2021

जोमसोम-गएरातिदेखि मुस्ताङमा हिमपात भएको छ ।

म्याग्दीका उच्च लेकाली क्षेत्रमासमेत शुक्रबार बिहानदेखि हल्का हिमपात सुरु भएको स्थानीय बासिन्दाले बताएका छन् ।

लोमान्थाङ गाउँपालिका, लो–घेकर दामोदर कुण्ड गाउँपालिका र मुक्तिनाथ क्षेत्रका साथै म्याग्दीको गुर्जामा पनि हिमपात सुरु भएको स्थानीयवासी मनबहादुर विकले जानकारी दिनुभयो ।

माथिल्लो क्षेत्रमा हिमपात भएपछि तल्लो क्षेत्रमा वर्षासँगै कुहिरो र हुस्सु लागेको छ ।

मुस्ताङको सदरमुकाम जोमसोम र म्याग्दीको सदरमुकाम बेनी आसपास क्षेत्रमा आज बिहानैदेखि पानी परेको छ ।

वर्षा, हिमपात, हुस्सु र कुहिराका कारण जोमसोम–पोखरा हवाई उडान पनि हुन सकेको छैन ।

मौसम प्रतिकूल बनेको हुँदा पोखराबाट जहाजले उडान भर्न नसकेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार मुस्ताङमा यो बेला दोस्रो पटक हिमपात भएकाले यहाँको जनजीवनमा समेत असर परेको छ ।

हिमपात र वर्षाका कारण त्यहाँको तापक्रम माइनसतर्फ झर्दै गइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

मुस्ताङ र म्याग्दीका उच्च लेकाली क्षेत्रमा हिमपात भएपछि तल्लो म्याग्दीमा जाडो बढेको छ ।

अत्यधिक चिसोका कारण गाउँगाउँका शिवालयमा शतबीज छर्ने भक्तजनलाई समस्या भएको छ ।

हिउँदे वर्षा गहुँबालीका लागि निकै उपयुक्त हुने स्थानीय तहको कृषि शाखाले जनाएको छ ।

गहुँबालीका लागि मात्रै नभएर हिउँदे फलफूलदेखि स्याउका नयाँ बिरुवालाई वर्षाका कारण राहत मिलेको छ ।

अहिले हिउँदे फलफूलका बिरुवा रोप्ने समय भएको र फल लाग्ने हिउँदे फलफूलका लागि पनि वर्षाको आवश्यकता पर्छ ।

गहुँ छरिसकेका किसान पनि हिउँदे वर्षा भएपछि बाली सप्रने भन्दै खुसी भएका छन् ।

अत्यधिक जाडो

वर्षाले म्याग्दीको उच्च लेकाली क्षेत्रमा जाडो बढाएको छ ।

केही क्षेत्रमा हिमपातसमेत भएको स्थानीयवासीले बताएका छन् ।

वर्षासँगै जिल्लाको धेरैजसो ठाउँमा जाडो बढेकाले त्यहाँको जनजीवन कष्टकर भएको बेनी नगरपालिका–२ का बेदप्रसाद उपाध्यायले बताउनुभयो ।

जाडोले बालबालिका र वृद्धवृद्धालाई समस्या भएको छ ।

बिहीबार रातिदेखि जिल्लामा लगातार पानी परिरहेको छ ।

प्रकाशित मिति:December 3, 2021