भूकम्पबाट जोगिन सिकाउने सन्देश प्रवाह गरौँ: गृहमन्त्री खाँण

  Sampatti News

December 29, 2021

भूकम्पबाट जोगिन सिकाउने सन्देश प्रवाह गरौँ: गृहमन्त्री खाँण

काठमाडौँ-गृहमन्त्री बालकृष्ण खाँणले भूकम्पलगायत प्राकृतिक प्रकोपबाट नागरिकको जीउधनको सुरक्षा गर्नु सबैको दायित्व भएको बताउनुभएको छ ।

गृहमन्त्रालयमा आज भएको २४ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मूल समारोह समिति बैठकमा उहाँले सबै नागरिकमा एक दिनमात्र होइन, हरेक दिन भूकम्पसम्बन्धी सजगता दिलाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

गृहमन्त्री खाँणले भन्नुभयो, “भूकम्पीय जोखिमका हिसाबले नेपाल ११ औँ स्थानमा पर्छ, पछिल्लो भूकम्पले सबैलाई सजग तुल्याएको छ, ठूलो जनधनको क्षति भयो । भूकम्पपछिको पुनःनिर्माणका काम अझै भइरहेका छन् ।”

सरकारले २४ औँ भूकम्प सुरक्षा दिवस मूल समारोह माघ २ गते ललितपुर महानगरपालिकाको पाटन दरबार स्क्वायरमा गर्ने भएको छ ।

भूकम्पबाट जनधनको क्षति कम गर्न जारी भएको पूर्वाधार निर्माणमा आचारसंहिताको पूर्णपालना गरिनुपर्नेमा जोड दिँदै उहाँले दिवसलाई औपचारिकतामा सीमित नतुल्याई नागरिकलाई भूकम्पबाट जोगिन सिकाउने सन्देश प्रवाह गर्न सक्नुपर्छ भन्नुभयो ।

विसं २०५५ देखि हरेक वर्ष राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

विसं १९९० माघ २ गते महाभूकम्पबाट भएको क्षति र सम्झनास्वरुप विसं २०५५ देखि हरेक वर्ष सोही दिन राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ ।

बैठकले २४ औँ भूकम्प सुरक्षा दिवस भव्यताका साथ मनाउन नागरिक समाज, संयुक्त राष्ट्रसङ्घीय निकाय, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र समुदायलाई आह्वान गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिरणका कार्यकारी निर्देशक अनिल पोखरेलले २४ औँ भूकम्प दिवसका लागि प्रस्तावित र तय गरिएका समग्र कार्यक्रम र बजेटबारे जानकारी दिनुभयो ।

भूकम्प दिवसलाई सफल तुल्याउन राष्ट्रिय सञ्चारमाध्यममा भूकम्पीय जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी लेख रचना, सार्वजनिक सन्देश प्रकाशन र प्रसारण गर्ने कार्यक्रम तय भएको छ ।

भूकम्पपछिको पुनःनिर्माणसम्बन्धी डिजिटल प्रचारप्रसार सामग्री वितरण, रेडियो र टेलिभिजनमा भूकम्पीय जोखिम न्यूनीकरण परिसंवाद र अन्तक्र्रिया, काठमाडौँ उपत्यका, प्रदेश, जिल्ला र स्थानीय तहमा भूकम्प स्मृतिसभा गर्ने कार्यक्रम बनाइएको छ ।

दिवसका अवसरमा विपद्पुस्तिका लोकार्पण, भूकम्प सुरक्षा डिजिटल प्रदर्शनी, सडक नाटक प्रदर्शनी र भूकम्पीय सुरक्षासम्बन्धी राष्ट्रिय गोष्ठीका अरिक्ति र्‍याली एवं झाँकीसमेत प्रदर्शन हुनेछ ।

सहरी विकास तथा भवन निर्माण विभाग, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस, प्रदेश, स्थानीय, जिल्ला प्रशासनको समन्वय र सहभागितामा मुलुकभर भूकम्प सुरक्षा दिवससम्बन्धी विभिन्न कार्यक्रम हुनेछ ।

काठमाडौँ महानगरपालिकाले माघ २ गते भूगोलपार्कमा भूकम्प स्मृतिसभा गर्नेछ ।

यस वर्ष भूकम्प दिवसको नारा ‘बहुप्रकोपीय विपद्मा भूकम्प सुरक्षा, साझा सहकार्यमा जन धनको रक्षा’ भन्ने छ ।

भूकम्पबाट जोगिन सिकाउने सन्देश प्रवाह गरौँ: गृहमन्त्री खाँण

प्रकाशित मिति:December 29, 2021