कोइरालाको भेलामा आपूर्तिमन्त्री बडू सहभागी

  Sampatti News Online

June 30, 2022

काठमाडौँ । कांग्रेस नेता डा. शेखर कोइराला निकट नेताहरूको भेला सुरु भएको छ । बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा कोइराला पक्षीय नेताको भेला सुरु भएको हो ।

भेलामा डा। कोइराला, डा. रामशरण महत, दिलेन्द्रप्रसाद बडू, जगदीशनरसिंह केसी, सञ्जय गौतमलगायत सहभागी छन् । बडू देउवा सरकारका आपूर्ति तथा वाणिज्य मन्त्रीसमेत हुन् । यसअघि उनी रामचन्द्र पौडेल खेमामा थिए । कांग्रेसको १४ औँ महाधिवेशनसम्म उनी पौडेलसँगै थिए । यसअघि कोइरालाले बोलाएको भेला र बैठकमा उनी सहभागी हुने गरेका थिएनन् । तर, बिहीबारको भेलामा बडू सहभागी भएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाको कार्य शैलीप्रति असन्तुष्टि जनाउँदै कोइरालाले शुक्रबार आफू पक्षीय भेला राखेका हुन् । कांग्रेस महाधिवेशन भएको ६ महिनाभित्र केन्द्रीय विभाग गठन भइसक्नु पर्ने विधानमा व्यवस्था छ । कांग्रेसको १४ औँ महाधिवेशन सकिएको ६ महिना पूरा भएको छ । तर, सभापति देउवाले विधानमा उल्लेख भएका २८ वटा विभाग गठन गरेका छैनन् ।

यसैगरी, कांग्रेस केन्द्रीय समितिको बैठक दुई दुई महिनामा बस्नु पर्ने व्यवस्था छ । तर, चैतयता कांग्रेस केन्द्रीय समितिको बैठक बस्न सकेको छैन । कांग्रेसका भ्रातृ र शुभेच्छुक संस्थाको नेतृत्वमा संस्थापन पक्षले एकलौटी गरेको भन्दै कोइराला पक्ष असन्तुष्ट बनेको छ । यिनै विषयमा छलफल गर्न भेला बोलाएको कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति:June 30, 2022