बर्षेनी करोडौंको झिलिमिली बत्ती आयात

  Sampatti News Online

October 18, 2022

काठमाडौं । तिहार भन्ने वित्तिकै झिलिमिली बत्तीको चाड भन्ने बुझिन्छ । माटाका पाला, विद्युतीय बत्ती, पटका आदि तिहारका विशेषता हुन् । तिहारमा नेपालीहरूले सबैभन्दा बढी विद्युतीय बत्ती प्रयोग गर्छन् । तिहारको बेला घर–पसल सजाउन झिलिमिली बत्ती बढी प्रयोग हुन्छ ।

पहिले–पहिलो माटोको दियो बालेर तिहारमा झिलिमिली बनाइन्थ्यो । तर, हिजो आज विद्युतीय बत्तिबाट झिलीमिली बनाउने गरिन्छ । तर, तिहारमा प्रयोग गरिने झिलिमिली बत्ती बाहिरबाट आयात गर्नु पर्ने बाध्यता रहेको छ ।

तिहारकै लागि भनेर विभिन्न खालका दियो, मालाबत्ती लगायत झण्डै करिब बर्षेनी करोडौ रुपैयाँको विद्युतीय झिलीमिली बत्ती विदेशबाट आयात हुने गरेको नेपाल विद्युतीय व्यवसायी महासंघको भनाई छ । विद्युतीय व्यवसायी महासंघका अध्यक्ष सुदर्शनप्रसाद पौडेलले यस वर्षको तिहारमा पनि करिब २० करोड रुपैयाँ बराबरको झिलीमिली बत्तीको आयात हुने बताए ।

उनले भने, ‘यस वर्ष चाडपर्वका लागि भनेर १५ देखि २० करोड रुपैयाँ बराबरको बत्ती आयात भएको छ ।’ साथै उनले गत वर्षको तिहारको तुलनामा यस वर्ष बत्तीको मुल्य प्रतिगोटा २० रुपैयाँसम्मले बढेको बताए । उनले भने, ‘गत वर्ष ११० रुपैयाँ पर्ने बत्तीको मुल्य यस वर्ष १३२ रुपैयाँसम्म पुगेको छ ।’

उनका अनुसार विशेषगरी तिहारमा लक्ष्मीपुजाको दिनसम्म झिलीमिली बत्तीको व्यापार हुने गर्छ । ‘यस वर्ष कात्तिक ७ गते लक्ष्मीपुजा रहेको छ । विशेषगरी कात्तिक ३ देखि धेरै बत्तीको व्यापार हुन्छ’, उनले थपे ।

तिहार लक्षित भित्रिएको बत्तीको सस्तो र महंगो दुवै खाले बत्ती आउने गरेको उनले बताए । उनले भने, ‘बजारमा महंगा बत्ती पनि छन् । सय रुपैयाँको हाराहारीमा पनि बत्ती पाइन्छ । सामान्यतया २५० रुपैयाँदेखि २० हजार रुपैयाँसम्मको बत्ती पनि छ । २० हजार रुपैयाँ पर्ने बत्ती भने केही लामा र ठुला साइजका रहेका छन् । सस्तो मुल्य एक सय रुपैयाँ रहेको छ भने महंगा बत्ती २० हजार रुपैयाँसम्म रहेको छ ।’

चाडपर्वका लागि विशेषगरी चीन र भारतबाट बत्तीको आयत हुने गरेको उनले जानकारी दिए । उनले भने, ‘अधिकांश ९० प्रतिशत बत्ती चीनबाट आयात हुन्छ केही मात्रामा भारतबाट पनि आयात हुने गरेको छ ।’

नेपालको बजार सानो भएको र बत्तीको कम खपत हुने भएका कारण बत्ती उत्पादन हुने नसकेको उनको भनाई छ । उनी भन्छन्, ‘नेपालमा हरेक वर्ष बाहरिी देशबाट नै बत्तीको आयात हुन्छ । नेपालको बजार सानो छ । अन्य अत्यावश्यक सामानको उत्पादन पनि हुन सकिरहेको छैन । झिलीमिली बत्ती विलासी वस्तुमा पर्यो । बजारमा यसको खपत पनि कम हुन्छ । यसले गर्दा पनि नेपालमा यसको उत्पादनको सम्भावना कम देखिन्छ ।’

प्रकाशित मिति:October 18, 2022