सहकारीका कर्मचारीलाई गोली हानेको आरोपमा ४ जना पक्राउ

  Sampatti News Online

October 20, 2022

सर्लाही । सर्लाहीमा सहकारी संस्थाका एक कर्मचारीलाई गोली हानेको आरोपमा तीन भारतीय र एक नेपाली नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत शिबहर जिल्ला छपरा निवासी रेहान भनिने आलोक सिंह, बिहारको बैशाली जिल्ला सुल्तानपुर बस्ने शौरभ यादव, बिहारकै मोतिहारी जिल्ला सिगारगञ्ज बस्ने गुलसन कुमार सिंह र सर्लाहीको धनकौल गाउँपालिका १ बस्ने ३२ वर्षीय डिजे भनिने धिरेन्द्र सहनी रहेको प्रहरीले जनाएको छ ।

बुधबार बिहान सर्लाहीको बागमती नगरपालिका १ मिलनचोकस्थित सगुन बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी लालबन्दी नगरपालिका २ जुटपानी बस्ने ३० वर्षीय साजन कार्कीमाथि गोली प्रहार भएको थियोे ।

कार्कीको दायाँ पाखुरा, दायाँ कोखा, बायाँ कोखा र दायाँ तिघ्रामा गोली लागेको थियोे । कार्कीको अहिले काठमाडौंमा उपचार भइरहेको छ ।

आफ्नै कार्यालयमा काम गरिरहेको बेला अपरिचित ३ जना मानिसहरु आएर कार्कीलाई ४ राउन्ड गोली प्रहार गरेका थिए ।

घटनालगत्तै खोजतलासमा जुटेको प्रहरीले चार जनालाई सर्लाहीको बलरास्थित नेपाल–भारत सीमाबाट पक्राउ गरेको हो ।

प्रकाशित मिति:October 20, 2022