प्रमुख विहीन मालपोत कार्यालय, सेवाग्राहीलाई सास्ती

  Sampatti News Online

April 25, 2023

खोटाङ । मालपोत कार्यालय खोटाङमा कार्यालय प्रमुख नहुँदा सेवाग्राही मर्कामा परेका छन् । लामो समयदेखि कार्यालय प्रमुख रिक्त हुँदा दैनिक काम समेत प्रभावित भएर सेवाग्राहीले सास्ती भोग्नु परेको हो ।

हाकिम नहुँदा नामसारी लगायतका महत्त्वपूर्ण काम रोकिएको छ । जग्गा नामसारी गर्न टाढाबाट आएका सेवाग्राहीहरू करिब १० दिनदेखि दिक्तेलमा कार्यालय प्रमुख कुरेर बस्न बाध्य भएका छन् । प्रमुख नहुँदा हाल मालपोतमा राजीनामा, दृष्टि बन्दक, बकस पत्र, लगायतका सामान्य कामहरू मात्र भइरहेका छन् ।

यस्तै, अर्का सेवाग्राही हाल जिल्ला बाहिर बस्दै आउनुभएका निमातेम्बा शेर्पा पनि खोटाङमा रहेको आमाको नामको जग्गा आफ्नो नाममा नामसारी गर्न वैशाख ३ गते आएको बताए । तर कार्यालय प्रमुख नहुँदा सास्ती खेप्नु परेको उनको गुनासो छ । दैनिक सेवाग्राहीको भिड लाग्ने मालपोत कार्यालय लामो समयसम्म प्रमुख विहीन हुनु राज्यको ठुलो लापरबाही भएको शेर्पा बताउँछन् ।

निमित्त कार्यालय प्रमुखको जिम्मा पाउनु भएका जगत् श्रेष्ठले मालपोत कार्यालय खोटाङ सम्हाली रहनु भएको छ । तर विभागले निमित्त मात्रै दिएको पुरा अख्तियारी नदिएको कारण नामसारी, नाम संशोधन, अर्धन्यायिक लगायतका महत्त्वपूर्ण  कामहरू गर्न नमिल्ने श्रेष्ठले बताउनुभयो । 

निमित्तले अख्तियारी नपाउँदा र नयाँ कार्यालय प्रमुख नआउँदा दैनिक सेवाग्राहीहरू निराश हुँदै फर्किने गरेका छन् । 

प्रकाशित मिति:April 25, 2023