अब मौद्रिक नीति खुकुलो गर्न ढिलाइ गर्नुहुँदैन : अर्थमन्त्री

  Sampatti News Online

April 27, 2023

विराटनगर । अर्थमन्त्री डा. प्रकाशशरण महतले मौद्रिक नीति खुकुलो गर्न अब ढिलाइ गर्नु नहुने बताएका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रको मूलभूत समस्या भनेको यसमा आएको शिथिलता भएको बताएका छन् । ।

अर्थ मन्त्रालय, राजश्व परामर्श समितिको आयोजना तथा उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घको सहजीकरणमा बिहीबार विराटनगरमा भएको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

अर्थ मन्त्रालय, राजश्व परामर्श समितिको आयोजना तथा उद्योग संगठन मोरङ र मोरङ व्यापार संघको सहजीकरणमा बिहीबार विराटनगरमा भएको कार्यक्रममा अर्थमन्त्री महतले भने, “मौद्रिक नीतिको जिम्मेवारी राष्ट्र बैंकसँग छ । एउटा परिवेशमा मौद्रिक नीति टाइट गरेको थियो । अब औपचारिक र अनौपचारिक रुपमा पनि बैंकको नेतृत्वलाई भनिसकेको छु । के नीतिगत निर्णय लिनुपर्छ । गम्भीरतासाथ हेरेका छौँ र निर्णयमा पुग्ने विश्वास दिलाइएको छ ।” उनले राजश्व र खर्चको विषयमा सम्बोधन गर्दै जाने गम्भीरता सरकारसँग भएको बताए ।

ब्याजदरले समस्या सिर्जना गरेको भन्दै अब विस्तारै सहजतातिर जानुपर्ने मन्त्री महतको भनाइ थियो । “अरु मौद्रिक नीतिका टुल्सका कारण पनि पुँजी प्रवाह हुन सकेको छैन । मौद्रिक नीतिमार्फत पनि पूँजी प्रवाह गर्न जरुरी छ । वित्त नीतिको नेतृत्व मैले गर्छु यसलाई पनि देश सुहाउँदो ढंगले बजेटमार्फत अब कसरी अघि बढाउने भन्ने तयारी सरकारको रहेको छ,” उनले भने ।

अर्थमन्त्री महतले ठेक्का प्रणालीमा समस्या देखिएको, साइट क्लियरेन्समा समस्या हुने गरेको र ठेक्का लागेपछि पनि काम अघि नबढ्ने अवस्थालाई परिवर्तन गर्नुपर्ने बताए । उनले भने, “साइट क्लियरेन्स नहुँदा वैदेशिक र स्वदेशी लगानीका योजनामा पनि पूँजीगत समस्या छ ।”

उनले यस्ता विषयलाई मध्यनजर राखेर बजेट कार्यान्वयनमा जानासाथ ठेक्कासम्बन्धी काम पहिलो दिनबाटै गर्ने वातावरण बनाउने सरकारको तयारी रहेको सुनाए ।

अर्थतन्त्रमा देखिएका समस्या र अवरोधहरु तथा शिथिलतालाई हटाउन इमान्दार प्रयास हुने बताए । भने, “अर्थतन्त्र गाडी चलेको जस्तै हो । इन्जिनमात्र चलेर हुन्न । स्टेरिंग वा ब्रेकमात्र ठिक भएर हुन्न । सबै पूर्जाहरु चल्नुपर्छ । सबैले एकसाथ आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ । देश चलाउने भनेको कुरा पनि सम्पूर्ण संयन्त्रले एकाकार भएर जिम्मेवारी पूरा गरे सुधार हुन्छ । सरकारीतन्त्रमा राज्यसंयन्त्रमा समस्या छन् । तिनलाई पहिचान गर्न र स्वीकार गर्न हिच्कीचाहट छैन । यिनलाई हटाउन सुरुवात गर्नुपर्छ ।”

अर्थमन्त्रीले ०४६ को परिवर्तनपछि देशमा धेरै कुरा राम्रो भएको दाबी गरे । सामाजिक सञ्जालको जमानामा संसार हातहातमै मोबाइलमा हेर्न सकिने भन्दै उनले आफूहरु कुन बेसबाट अघि बढेको हो त्यो पनि हेर्नुपर्ने बताए ।

“अरु देशमा भइसक्यो नेपालमा किन भएन ? त्यस्तै रिजल्ट किन आएन ? राजनीतिक नेतृत्वले किन दिएन भन्ने प्रश्न छ । ठूलै चुनौती छ ।

प्रकाशित मिति:April 27, 2023