नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल पुगेका १६ भ्रष्ट

  Sampatti News Online

June 30, 2023

नेपाली नागरिकहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा सरकारी वकिलको कार्यालयले ३० जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो।

तीमध्ये १८ आरोपितका तर्फबाट ११० जना वकिलले बहस गर्न नाम टिपाएका थिए। कानुन व्यवसायीहरूको बहस लामो भएपछि जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले बहस छोट्याउन निर्देशन दिएका थिए।

जेठ १० मा जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डूले नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दायर गरेको थियो। उनीहरूविरुद्ध ठगी, किर्ते, राज्यविरुद्धको अपराध र सङ्गठित अपराधको अभियोग लगाइएको थियो।

सरकारी वकिलको कार्यालयले अभियुक्तहरूबाट कुल २८ करोड ८१ लाख रुपैयाँ बिगो दाबी मुद्दामा गरेको छ। उक्त प्रकरणमा आरोप लागेका भूतपूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थीलाई स्वदेशफिर्तीका लागि अभियान चलाइरहेका शरणार्थी नेता टेकनाथ रिजालसहित १६ जनालाई प्रहरीले फरक फरक समयमा पक्राउ गरेको थियो।

त्यसैगरी पूर्वगृहमन्त्री रामबहादुर थापाका तात्कालिक सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वमन्त्री रायमाझीका छोरा सन्दीप रायमाझी तथा बिचौलिया भनिएका केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, टङ्क गुरुङ, सागर थुलुङ राई पनि नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका थिए। प्रहरीले फरार रहेका अझै केही आरोपितहरूको खोजी भइरहेको जनाएको छ।

कस्को, बैंकमा कति व्यालेन्स ?

मासिक ७२ हजार हाराहारी तलब थाप्ने सचिव टेकनारायण पाण्डेको खातामा चार महिनामै ८५ लाख रुपैयाँ बैंक ब्यालेन्स कसरी थपियो ?
यसरी नक्कली भुटानी प्रकरणमा संलग्न सचिव पाण्डेसहितका प्रतिवादीको बैंकिङ कारोबारसम्बन्धी विवरण अध्ययन गर्दा पैसाको डरलाग्दो जालो फेला परेको छ । पाण्डेले सञ्चयकोषका लागि खोलेका एभरेष्ट र हिमालयन बैंकका दुई खातामा ०७८ मंसिर २ गतेदेखि ०७९ वैशाख २३ सम्मको अवधिमा ८४ लाख ९४ हजार ९८ रुपैयाँ १३ पैसा जम्मा भएको छ । उक्त रकम उनका पिएसओ धर्मराज शाहीले जम्मा गरिदिएका हुन् ।

त्यस्तै, तत्कालीन गृहमन्त्री रामबहादुर थापा (बादल) का सुरक्षा सल्लाहकार इन्द्रजित राईले नक्कली शरणार्थी प्रकरणमा पैसा उठाउँदै जग्गामा लगानी गर्ने गरेको भेटियो । नेपाल इन्भेष्टमेण्ट र मेघा बैंकस्थित उनको खातामा ०७८ भदौ १४ देखि असोज १७ गतेसम्ममा ३ करोड ४५ लाख ५३ हजार रुपैयाँ जम्मा भएको देखिन्छ । सोही बैंकमा इन्द्रजित र श्रीमती भुवनदेवी राईको संयुक्त खाता मा ०७८ वैशाख २१ मा ७३ लाख कर्जा लिई ७८ भदौं १२ मा ७३ लाख ८५ हजार कर्जा चुक्ता गरेको भेटिएको छ । इन्द्रजितले २०७६ असोज ९ मा पत्नी भुवनदेवीको नाममा कित्ता नं.९८७ क्षेत्रफल ०–८–१–० भएको जग्गा साविक जग्गा धनी अम्बिका राई र नवीना राईबाट ३६ लाख ५० हजारमा खरिद गरेको लिखत देखिएको छ । तर, कागज गर्दा ७७ लाखमा खरिद गरिएकोमा ६२ लाख तिरिएको र १५ लाख तिर्न बाँकी रहेको देखाइएको छ । उनैले २०७८ वैशाख १४ गते साविक जग्गाधनी समिरा कार्कीबाट चार आना जग्गा भुवन देवी राईको नाममा खरिद गर्दा एक करोड ८३ लाख तिरिएको कागज भेटिएको छ । २०७७/०६/०२ मा साविक जग्गाधनी श्याम महर्जनबाट कित्ता नं. ११२७ को चार आना क्षेत्रफल भएको जमिन १० लाख ३५ हजारमा खरिद गरेको पाइएको छ ।
त्यस्तै, रामेछापका कांग्रेस नेता आङटावा शेर्पाको कुमारी बैंकको खातामा जाहेरीवाला तेञ्जीफुटी शेर्पा, लामाडोमा शेर्पा र सोनी शेर्पाले २०७९ असोज १३ मा ६/६ लाखका दरले १८ लाख जम्मा गरेको पाइएको छ ।
एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दिप र अर्का प्रतिवादी सानु भण्डारीको पार्टनरसीपमा रहेको लियोन ट्रेडर्स प्रालिमा सानु भण्डारीले ४० लाख जम्मा गरेको देखिन्छ । केशव तुलाधरको नाममा रहेको सिद्धार्थ बैंकको खातामा ०७८ साउन २६ मा १ करोड ७८ लाख जम्मा भएको र भोलिपल्टै केशवले झिकेका छन् । ०७८ साउन ३१ मा गजेन्द्र बुढाथोकीले २० लाख जम्मा गरिदिएको पाइन्छ । सोही खातामा ०७८ असोज १५ मा १५ लाख जम्मा भएको छ ।

लक्ष्मी महर्जनको खातामा ०७८ मंसिर २८ मा हरिभक्त महर्जनको खातामा १० लाख ८, भदौ २७ मा केशव तुलाधरको खातामा ९ लाख ५० हजार, हरिभक्तको खातामा ०७८ भदौ ५ मा ९ लाख ९९ हजार १५ रुपैयाँ पठाइएको छ । यस्तै, साम्बेर तामाङले १० जनवरी २०२१ मा ९ लाख ५० हजार र भोलिपल्टै ९ लाख ९९ हजार जम्मा गरिदिएका छन् । २४ अगस्ट २०२१ मा गजेन्द्र बुढाथोकीले ९ लाख ९९ हजार, सोही दिन विनोद लामाले ९ लाख ५० हजार र २४ डिसेम्बर २०२१ मा गजेन्द्र बुढाथोकीले १० लाख जम्मा गरेको देखिन्छ ।
यस्तै सानु भण्डारीको हिमालयन बैंकको खातामा प्रेमराज पन्थीले ३० लाख, टीका चौधरीले दुईपटक गरी १० लाख, केशवप्रसाद दुलालले ८ लाख, रामशरण केसीले दुईपटक गरी १३ लाख, दिनेशनाथ योगीले ४ लाख, निमबहादुर खत्रीले दुई पटक गरी १० लाख, दिनेशबहादुर महताराले ५ लाख, श्रद्धा बुढामगरले ७ लाख, विपिन रोकामगरले ६ लाख, विष्णुप्रसाद पुरीले ५ लाख, टंकप्रसाद शिवाकोटीले २ लाख, इन्द्रजित राईले ७ अगष्ट २०१९ मा ९ लाख ९९ हजार र भोलिपल्टै ९ लाख ९९ हजार जम्मा गरिदिएको देखिन्छ । यस्तै, टंकप्रसाद शिवाकोटीले ९ लाख, रामशरण केसीले ३५ लाख, धिरेन राईले १० लाख, निरञ्जनकुमार खरेलले चार पटक गरी २९ लाख र टीकाराम चौधरीले १० लाख जम्मा गरेको देखिन्छ ।
उता, भुटानी शरणार्थी नेता टेकनाथ रिजालले ५ लाख, अशोक पोखरेलले पाँच लाख, निरञ्जनकुमार खरेलले ९ लाख ९९ हजारका दरले दुई पटक रकम झिकेका छन् । केशव दुलालले ५ लाख, रामशरण केसीले दुई पटकमा २६ लाख र निरञ्जनकुमार केसीलाई अर्काे पटक उनको खाताबाट नौ लाख भुक्तानी भएको देखिन्छ ।

कुन अपराधमा कति सजाय?

जिल्ला सरकारी वकिल कार्यालय, काठमाण्डूले जेठ १० गते ठगी, किर्ते, राज्यविरुद्धको अपराध र सङ्गठित अपराधमा ३० जनाविरुद्ध मुद्दा दायर गरेको थियो। मुद्दामा आरोपितहरूबाट कुल २८ करोड ८१ लाख रुपैयाँ बिगो दाबी गरिएको छ।

आरोपितहरूमाथि लगाइएका अभियोगमध्ये सबैभन्दा धेरै सजाय र जरिवाना ठगी र किर्तेसम्बन्धी कसुरमा छ। दोषी ठहर हुनेलाई प्रत्येक अभियोगमा सात वर्ष जेल र ७०,००० रुपैयाँसम्म जरिबाना हुन सक्छ। राज्यविरुद्ध अपराधमा पाँच वर्ष जेल र ५०,००० रुपैयाँसम्म जरिबाना हुने कानुनी व्यवस्था छ। त्यसैगरी सङ्गठित अपराधको कसुरमा पनि पाँच वर्ष जेलसजाय र ५०,००० रुपैयाँसम्म जरिबानाको व्यवस्था छ।

प्रकाशित मिति:June 30, 2023