किसानका खेतमा ‘सिरिञ्ज’

  Sampatti News

July 19, 2023

     

काठमाडौं । तुलसीपुर उपमहानगरपालिका– १०,११ र १२ का किसानको खेतमा अस्पताल तथा होटलजन्य फोहर पुग्ने गरेका छन् । त्यहाँका किसानले पटक–पटक सो विषयमा ध्यानाकर्षण गराउँदा सुनुवाइ नभएको गुनासो गरेका छन् । “यो विषयमा हामीले पटक–पटक उपमहानगरपालिकालाई ध्यानाकर्षण गरायौँ”,तुलसीपुर ११ कटाहाका जनकलाल चौधरीले भने, “तर, पनि यसमा कुनै चासो भएको छैन ।”

प्रत्येक वर्ष वर्षाको समयमा किसान उपमहानगरपालिका कार्यालयमा ध्यानाकर्षण गराउन पुग्छन् । खेत रोप्दा सिसाले काट्ने गरेको, खेतलाई गोडमेल गर्न पनि नसक्ने अवस्था रहेको, आँगनमै फोहरको गन्ध आउने गरेको त्यहाँका किसानको पटक–पटक गुनासो हुन्छ ।

तर, चासो नदिएकाले समस्या ज्यूँकात्यूँ रहेकाले अब कडा कदम चाल्ने स्थानीयवासी रेशम केसीले भने,“अब हामी खेतमा गएको सबै फोहर ट्याक्टरमा हालेर उपमहानगरपालिकाको गेटमा छोडिदिन्छौँं ।” खेतमा, घर आँगनमा आएको फोहरलाई एक ठाउँमा जम्मा गरिदिने गरेको भए पनि उपमहानगरपालिकाको फोहर फाल्ने गाडीसमेत नआउने गरेको उनीहरुको गुनासो छ ।

फोहरको गाडीले लगेपनि धेरै राहात हुने किसानको भनाइ छ । तर, उपमहानगरपालिका सरसफाइ व्यवस्थापन शाखा प्रमुख माधव पौडेलले फोहर व्यवस्थापनका लागि ट्याक्टर प्रयोग गर्ने गरेको बताए ।“हामीसँग ६ जना फोहरका कर्मचारी र ट्याक्टर लिएर जाने गरेका छौंँ”,उनले भने, “त्यसले किसानका खेतको फोहर उठाउने गरेका छौंँ ।” बजार बासीले फोहर जम्मा गरेर गाडीमा दिने भन्दा पनि जहाँ पायो त्यहीँ फालिदिने गर्दा पनि यस्तो समस्या वर्सेनि देखिने गरेको छ ।

प्रकाशित मिति:July 19, 2023