सुन प्रकरणबारे अनुसन्धानका लागि सिआइबीको टोली भारतमा 

  Sampatti News Online

August 31, 2023

काठमाडौँ – हङकङबाट तस्करी गरी ल्याइएको ६१ किलो सुन प्रकरणमा तस्करीका विषयमा सूचना सङ्कलन गर्न नेपाल प्रहरीले सिआइबीका एक अधिकृतसहितको टोलीलाई आज भारत पनि पठाएको छ ।

बुधबार सोही प्रकरणको थप सूचना सङ्कलनका लागि सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यलाई हङकङ पठाएको प्रहरीले आज भारतमा पनि टोली पठाएको हो ।

अहिले भारत गएको टोलीले भारतको नेपाली राजदूतावासमा रहेका प्रहरी वरिष्ठ उपरीक्षक उमाप्रसाद चतुर्वेदीसँग समन्वय गरेर त्यहाँबाट सूचना सङ्कलन गर्नेछ । नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले आवश्यकताअनुसार प्रहरी टोली परिचालन गरी नेपाल, भारत र हङकङबाट आवश्यक सूचनाहरू सङ्कलन गरिरहेको बताए। यसअघि प्रहरीले हङकङ र भारतको इन्टरपोललाई सहयोग गर्न पत्राचार गरिसकेको छ ।

हङकङबाट ब्रेक शुमा हालेर ल्याइएको ६० किलो सात सय १६ ग्राम सुन गत साउन ३ गते राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो । उक्त सुन प्रकरणमा भन्सारका कर्मचारीको सहयोगमा नेपाल भित्र्याइएको पाइएको छ । केही कर्मचारीहरू पक्राउ पनि परिसकेका छन् ।

प्रकाशित मिति:August 31, 2023