कुशल मल्लले टी–२० आई क्रिकेटमा बनाए विश्व कीर्तिमानी शतक

  Sampatti News

September 27, 2023

काठमाडौँ । नेपालका अलराउण्ड र कुशल मल्लले टी–२०आई क्रिकेटमा विश्व कीर्तिमानी शतक कायम गरेका छन् ।

चीनको हान्झाउमा जारी पुरुष क्रिकेट अन्तर्गत मंगोलिया विरुद्ध अहिले भइरहेको खेलमा कुशल मल्लले ३४ बलमा शतक पूरा गर्दै विश्व कीर्तिमान बनाएका हुन् ।

उनले दक्षिण अफ्रिकाका डेविड मिलर, भारतका रोहित शर्मा र चेक रिपब्लिकका सुदेश विक्रमाशेखरले ३५ बलमा शतक प्रहार गर्दै बनाएको कीर्तिमान तोडेका हुन् ।

जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी फिनफेङ क्रिकेट फिल्डमा भइरहेको खेलमा कुशल मल्लले ३४ बल खेल्दै ६ चौका र ९ छक्का मद्दतमा शतक पूरा गरेका थिए ।  कुशलले अविजित रहँदै सर्वाधिक १३७ रन बनाए ।

कुशल मल्ल नेपालका लागि टी-२० आईमा शतक प्रहार गर्ने पाँचौ खेलाडी हुन् । यसअघि पूर्व कप्तानद्वय पारस खड्का र ज्ञानेन्द्र मल्ल तथा दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले टी-२०आईमा शतक प्रहार गरेका छन् ।

नेपालका लागि टी-२०आईमा व्यक्तिगत उच्च रन बनाउने कीर्तिमान पनि कुशल मल्लले बनाएका छन् । यसअघिको व्यक्तिगत उच्च स्कोर दीपेन्द्र सिंहले बनाएका थिए । उनले नटआउट ११० रन बनाएका थिए ।

प्रकाशित मिति:September 27, 2023