क्रिकेट विश्वकपमा आज भारत र अस्ट्रेलियाबीच भिडन्त

  Sampatti News

October 8, 2023

काठमाडौँ । जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गत आज भारत र अस्ट्रेलियाबीच खेल हुदै छ । यो खेल भारतको चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा नेपाली समय अनुसार २: १५ बजेदेखि शुरु हुने छ । यो दुवै देशका लागि यस विश्वकपको पहिलो खेल हो ।

जारी विश्वकपको यो पाँचौँ खेल हो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) द्वारा जारी पछिल्लो एकदिवसीय वरीयतामा भारत पहिलो स्थानमा आसिन छ । अस्ट्रेलिया भने पछिल्लो आईसीसी वरीयताको तेस्रो स्थानमा छ । 

भारत र अस्ट्रेलियाबीच अहिलेसम्म एकदिवसीय क्रिकेटमा १४९ पटक खेल भएको छ । जसमा अस्ट्रेलियाले ८३ खेल जितेको छ भने भारतले ५६ खेल जितेको छ । त्यसैगरी १० खेलको कुनै नतिजा आएको थिएन ।

अस्ट्रेलिया क्रिकेट विश्वकपमा सबैभन्दा बढी सफल टिम हो । अस्ट्रेलियाले अहिलेसम्म सबैभन्दा बढी ५ पटक विश्वकप जितेको छ । अस्ट्रेलियाले १९८७, १९९९, २००३, २००७ र २०१५ मा विश्वकप जितेको थियो । २०१९ को विश्वकपमा अस्ट्रेलिया सेमिफाइनलबाट बाहिरिएको थियो ।

त्यसैगरी भारतले १९८३ र २०११ गरी दुई पटक विश्वकपको उपाधि जितेको थियो भने गत विश्वकपमा सेमिफाइनलबाट बाहिरिएको थियो ।

यस विश्वकपका प्रमुख दाबेदार मानिएका भारत र अस्ट्रेलियाबीचको यो भिडन्त रोचक हुने देखिएको छ ।  यो खेलअघि भारतका प्रमुख ब्याट्सम्यान शुभमन गिललाई डेंगु भएपछि उनले यो खेल गुमाउने भएका छन् । उनको ठाउमा अस्ट्रेलियाविरुद्ध इशान किसनले ओपन गर्नसक्ने बताइएको छ ।

भारतको सम्भावित ११ : १ रोहित शर्मा (कप्तान), २ इशान किशन, ३ विराट कोहली, ४ श्रेयस अय्यर/सूर्यकुमार यादव, ५ केएल राहुल (विकेटकिपर), ६ हार्दिक पाण्ड्या, ७ रविन्द्र जडेजा, ८ आर अश्विन, ९ कुलदीप यादव, १० जसप्रित बुमराह, ११ मोहम्मद सिराज ।

अष्ट्रेलियाको सम्भावित ११ : १ डेभिड वार्नर, २ मिचेल मार्स, ३ स्टिभन स्मिथ, ४ मार्नस लाबुस्चेन, ५ क्यामरुन ग्रीन, ६ एलेक्स क्यारी (विकेटकिपर), ७ ग्लेन म्याक्सवेल, ८ मिचेल स्टार्क, ९ प्याट कमिन्स (कप्तान), १० जोश हेजलवुड, ११ एडम जाम्पा ।

प्रकाशित मिति:October 8, 2023