विश्वकप क्रिकेटमा इंग्ल्यान्डद्वारा बंगलादेश १३७ रनले पराजित

  Sampatti News

October 11, 2023

एजेन्सी । साविक विजेता इंग्ल्यान्डले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पहिलो जित दर्ता गरेको छ । भारतमा जारी विश्वकपमा इंग्ल्यान्डले मंगलबार बंगलादेशलाई १३७ रनको फराकिलो अन्तरले हराएको हो ।  

इंग्ल्यान्डले जितका लागि दिएको ३ सय ६५ रनको विशाल लक्ष्य पछ्याएको बंगलादेश ४८.२ ओभरमा अलआउट हुँदै २२७ रनमै समेटिएको हो । बंगलादेशका लागि ओपनर लिटन दास र मुष्फिकर रहिमले अर्धशतकीय इनिङ खेले तर, जित निकाल्न सकेनन् । दासले सर्वाधिक ७६ रन बनाउँदा रहिमले ५१ रन जोडे । 

साथै टाउहिद हृडोयले ३९ रन जोड्दा तास्किन अहमदले १५ रन, महेदी हसनले १४ रन तथा सोरीफुल इस्लामले १२ रन बनाउनुबाहेक अन्य खेलाडी चल्न सकेनन् ।  

बलिङमा इंग्ल्याण्डका लागि रिक्की टोप्लेले सर्वाधिक ४ विकेट लिए भने क्रिस वोक्सले २ तथा स्याम करन, मार्क वुड, आदिल रशिद र लियाम लिभिङस्टोनले समान एकएक विकेट लिए । 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा छ विकेट गुमाएर ३६४ रन बनाएको थियो । इंग्ल्याण्डका लागि डेविड मलानले सानदार शतकीय पारी खेले । उनले १०७ बलमा १६ चौका र पाँच छक्कासहित १४० रन जोडे । साथै जो रुटले ८० रन तथा जोन्नी बेरस्टोले ५२ रनको अर्धशतकीय इनिङ खेले । 

बलिङमा बंगलादेशका लागि मेहदी हसनले सर्वाधिक ४ विकट लिए । सोरीफुल इस्लामले ३ तथा तस्किन अहमद र शकिब अल हसनले समान एक एक विकट लिए ।

प्रकाशित मिति:October 11, 2023