कोरोना जोखिमको वेवास्ता गर्दै जनकपुरमा जसपाले गर्यो सभा आयोजना

  Sampatti News

July 31, 2020

जनकपुरधाम । कोरोना संक्रासको समयमा पनि समाजवादी पार्टी (जसपा)ले प्रदेश २ मा भिड जम्मा पार्दै पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको छ।

सरकारले लकडाउन खुकुलो पारेपनि धेरै संख्यामा मानिसहरु भेला नहुन आग्रह गरेको भएपनि जसपाले सोही नियमको पालना उलंघन गर्दै सिरहाको गोलबजार नगरपालिकाको चौहर्बामा बिहीबार आयोजना गरेको हो। गरिएको पार्टी प्रवेश कार्यक्रममा दर्जनौंको उपस्थिति थियो। अग्रपंक्तिमा बसेकाले मास्कको प्रयोग गरे पनि बीचमा र पछाडि बसेका धेरैले मास्कको प्रयोग गरेका थिएनन्।

पार्टी प्रवेश कार्यक्रमको नाममा सामाजिक दूरीको खिल्ली उडाएको देखियो । कार्यक्रमस्थलमा ठूलो मञ्च बनाइएको थियो भने मञ्च अगाडि ठूलो पण्डाल निर्माण गरिएको थियो ।

पण्डालभित्र सामाजिक दूरी पालन नगरी कुर्सीहरु राखिएका थिए । मञ्चमा आसिन नेताहरुले केही सामाजिक दुरी पालना गरेको देखिए पनि तल पण्डालभित्र बसेका कार्यकर्ताहरु भने एकअर्कासँग टाँसिएरै बसेका थिए । सरकारले लकडाउन खुला गरे पनि सभा सम्मेलन गर्न प्रतिबन्ध कायमै राखेको छ ।

पार्टी अध्यक्ष उपेन्द्र यादवले आफ्नो भाषणको समयमा कोरोना भाइरस सम्बन्धी चेतनामूलक अभिव्यक्ति समेत दिएका थिए। उनले संक्रमण हुन नदिन व्यवहारमा परिवर्तन गर्नुपर्नेदेखि संक्रमित भइहाले अस्पतालसम्म पुर्याउनुपर्ने धारणा राखे। सोही क्रममा उनले कुनै तयारी बिना नै सरकारले लकडाउन खोलेको आरोप लगाए । ‘सरकारले लकडाउन खोलेको छ, तर तयारी केही छैन’ उनले भने।

यादवले एकात्मक र केन्द्रीकृत शाषण प्रणाली परिवर्तन हुनु ठूलो उपलब्धी भएको भन्दै यसलाई संस्थागत गर्दै अघि बढ्नुपर्ने समेत बताए।

कार्यक्रममा पार्टीका नेता बाबुराम भट्टराईले कम्युनिष्ट श्रम गरेर खाने पार्टी भए पनि यहाँको कम्युनिष्ट चोरेर, ठगेर खाइरहेको आरोप लगाए। उनले भने, ‘कांग्रेस आफ्नै पापले थला परेको छ। कम्युनिष्ट अर्काको चोरेर, ठगेर खाइरहेका छन्।’

कम्युनिष्ट सरकार भ्रष्टाचारमा लिप्त रहेको भन्दै उनले आफ्नो पार्टीले कतै पनि भ्रष्टाचार नगर्ने दावी गरे ।

प्रकाशित मिति:July 31, 2020