मेयरद्वारा खानेपानीको लागि १५ लाख बढीको चेक हस्तान्तण

  Sampatti News Online

November 30, 2023

रौतहट १४ मंसीर। लामो समय देखि बन्द रहेको कटहरियाको खानेपानी सेवा तत्काल सुचारु गराउन मेयर अजयप्रकाश जैसवालले १५ लाख रुपैयाँ भन्दा बढीको चेक हसतान्तरण गरेका छन्।
गत मंगलवार बसेको नगर कार्यपालिका बोर्डको बैठकको निर्णय अनुसार खानेपानीको समस्या समाधान गर्न विद्युत प्राधिकरणको बक्यौता महसुल तिर्न १५ लाख ६ हजार २८० रुपैयाँको चेक हसतान्तरण गरिएको हो। उक्त रकम विधुत प्राधिकरण मौलापुर शाखामा बुझाएर आजैदेखि खानेपानी सञ्चालन गराउने मेयर जैसवालले बताएका छन्।
खानेपानी कार्यालयमा कार्यरत कर्मचारीको तलबको लागि चाँडैनै अर्को बैठक बाट निर्णय गरी उपलब्ध गराउने उनले प्रतिबद्धता जनाएका छन्। साथै खानेपानीको लागि वडा ४ र ५ अन्तर्गत छुटेका घरहरूमा पाईप बिस्तारको लागि दुईलाख रुपैया छुट्याएको छ। मेयर जैसवालले नगरपालिकाले गर्नुपर्ने आफ्नो दायित्व पूरा गरिरहेको छ, खानेपानी उपभोक्ता समितिका अध्यक्ष योगेन्द्र साह, वडा ४ का अध्यक्ष चन्दन कुशवाहा ,५ का अध्यक्ष सर्फलाल गुप्ताले पनि आफ्नो दायित्व पूरा गर्नुपर्ने जिकिर गरेका थिए।
यस अघि खानेपानी उपभोक्ता समितिले लामो समय देखि पानी सप्लाई नगरेको कारण यहाँका सैयौं परिवार शुद्ध खानेपानी बाट वञ्चित भएका थिए।
कटहरिया नगरपालिकाले लामो समय देखिको बक्यौता खानेपानीको विद्युत महसुल नतिरेकोले कारण नेपाल विद्युत प्राधिकरण मौलापुरले दशैं अघिनै खानेपानीको विद्युत मीटर खोलेर लागेको थियो।
विद्युत आपूर्ति अवरुद भएको झण्डै एक महिना देखि कटहरिया ४ र ५ का हजारौँ मानिस शुद्ध पानी पिउन बाट बन्चित भएका थिए ।
खानेपानी उपभोक्ता समितिका अध्यक्ष योगेन्द्र साहका अनुसार मेयर अजयप्रकाश जैसवाल निर्वाचित भए लगत्तै खानेपानी निशुल्क गरिने घोषणा गरेका थिए। तर विद्युत महसुल झण्डै १६ लाख रुपैयाँ बक्यौता समयमा नतिरेको कारण प्राधिकरण ले विद्युत मीटर खोलेर लागेकाले पानी आपूर्ति ठप्प भएको बताएका थिए।
तेस्रो सानो सहरी आयोजना इटहरीको पहलमा कटहरियामा निर्माण गरिएको खानेपानी आयोजनाले वडा ४ र ५ अन्तर्गत १६ सय परिवारमा शुद्ध खानेपानीको आपूर्ति गर्दै आएको थियो। सञ्जय मिश्रा

प्रकाशित मिति:November 30, 2023