सहायतामा ढिलाइ गर्दा पुटिनको सपना पूरा हुनेछ:जेलेन्स्की

  Sampatti News Online

December 12, 2023

एजेनसी । सैन्य र आर्थिक सहयोगको अनिश्चितता जारी रहँदा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अमेरिका पुगेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनकै निमन्त्रणमा जेलेन्स्की अमेरिका पुगेका हुन् । 

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका अनुसार युक्रेनको रक्षाका लागि निरन्तर अमेरिकी समर्थनको महत्त्व र युक्रेनले सामना गर्ने जटिलताबारे छलफल गर्न बाइडेनले जेलेन्स्कीलाई अमेरिका आमन्त्रित गरेका हुन् ।

जेलेन्स्कीको अमेरिका भ्रमण यस्तो समयमा भइरहेको छ, जतिबेला अमेरिकी सिनेटले युक्रेनलाई आर्थिक सहयोग गर्न अस्वीकार गरिदिएको छ । केही समयअगाडि सिनेटमा भएको मतदानमा विपक्षी रिपब्लिन पार्टीका सिनेटरहरूले अमेरिकाले सीमा सुरक्षामा बजेट खर्च गर्नुपर्ने भन्दै युक्रेनलाई गर्ने भनेको सहयोगको विपक्षमा भोट गरेका थिए ।

जेलेन्स्कीले अमेरिकी समकक्षी बाइडेन र अमेरिकी सभामुखलाई भेट्ने कार्यक्रम छ । त्यसअघि सोमबार नै अमेरिका पुगेका जेलेन्स्कीले वासिङ्टन पुगेर नेसनल डिफेन्स युनिभर्सिटीमा अमेरिकी सैन्य अधिकारीहरूलाई सम्बोधन गर्दै अमेरिका र अन्य देशबाट हतियार सहयोग नपाएको खण्डमा आफूहरूले युद्ध हार्ने बताएका छन् ।

उनले अमेरिकालाई सहयोग गर्न आह्वान गर्दै भनेका छन्, ‘अमेरिकाले सैन्य समर्थन जारी राख्न ढिलाइ गर्नुहुन्न । रूसी आक्रमणलाई पराजित गर्न मद्दत गर्न असफल हुनुले युरोपको लोकतन्त्रलाई ध्वस्त पार्नेछ र यस कार्यले रुस र पुटिनको सपना पूरा हुनेछ ।

प्रकाशित मिति:December 12, 2023