क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर

  Sampatti News Online

December 31, 2023

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर भएका छन् । जिल्ला अदालत काठमाडौंका जिल्ला न्यायाधीश शिशिराज ढकालको एकल इजलासले फैसला गरेको हो । ६ दिनसम्म चलेको बहसपछि न्यायाधीश ढकालले शुक्रबार साँझ यो फैसला सुनाएसँगै राष्ट्रिय टोलीका पूर्वकप्तान लामिछानेले थप कैद बस्नुपर्ने भएको छ ।

अब अदालतले कसुर निर्धारणका लागि आगामी पुस २५ गते छुट्टै सुनुवाइ गर्नेछ । उक्त सुनुवाइबाट सन्दीपले कैद सजाय भोग्नुपर्ने अवधि तय हुनेछ ।

गौशाला २६ को नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर करणी गरेकाले सहमतिको नभएको भन्दै अदालतले भनेको छ, ‘सन्दीप लामिछानेले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१), (२) र (३) (ङ) बमोजिम कसुर गरेको ठहर्दछ ।’

३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन ।

लामिछानेविरुद्ध २०७९ भदौमा बलात्कारको जाहेरी परेको थियो । जाहेरी परेको समयमा लामिछाने विदेश थिए । त्यसपछि नेपाल फर्किएका उनलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २० असोज २०७९ मा पक्राउ गरेको थियो ।

यो मुद्दाका क्रममा लामिछानेलाई जिल्ला अदालत काठमाडौंले १८ कात्तिक २०७९ मा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तर, त्यसविरुद्ध लामिछाने उच्च अदालत पाटन पुगेका थिए । उच्च अदालतले २९ पुस २०७९ मा उनलाई सर्तसहित २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उच्चको आदेश सर्वोच्चले समेत सदर गरेपछि लामिछानेले थुनाबाहिर रहेर मुद्दा लडेका थिए ।

लामिछानेमाथि एक नाबालिकामाथि बलात्कार गरेको आरोप लागेको थियो । ५ भदौमा लामिछानेले ती नाबालिकालाई काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा लगेको र राति काठमाडौंको एक होटलमा राखेर बलात्कार गरेको उजुरी परेको थियो । यो अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेविरुद्ध १२ वर्षसम्म कैद सजायको माग गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति:December 31, 2023