बालकुमारी घटनामा ज्यान गुमाएका २ युवकको परिवारलाई सुदूरपश्चिम प्रदेशले २/२ लाख दिने

  Sampatti News Online

December 31, 2023

काठमाडौँ ।खसुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मृतकका परिवारलाई २-२ लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।

ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागि ज्यान गुमाएका दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको न्यायको लागि सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि मृतक शाहका आफन्तहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले त्यस क्रममा नाराबाजीसमेत गरेका थिए । मृतकका आफन्तले न्याय माग्दै धनगढी चौराहादेखि मुख्यमन्त्री कार्यालयसम्म प्रदर्शन गरेका थिए ।

बालकुमारी घटनामा मृत्यु भएका दुवै जनालाई शहीद घोषणा गर्न पनि माग गरिएको छ । मृतकहरूलाई शहीद घोषणा गर्नुपर्ने र परिवारका एक–एक जनालाई रोजगारीको व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ ।

यसअघि शनिबार मृतकका परिवारले ११ बुँदे मागपत्र प्रधानमन्त्रीलाई बुझाउँदै उचित क्षतिपूर्ति दिनुपर्नेतर्फ ध्यानाकर्षण गराइसकेका छन् । आन्दोलनमा घाइते भएकाहरूको उपचारको व्यवस्था गर्नुपर्ने, बेपत्ताहरूको खोजीनिती गरी उनीहरूको अवस्था सार्वजनिक गर्न पनि माग गरिएको छ ।

घटनास्थलको सीसीटीभी फुटेज सुरक्षित राखी छानबिनको आधार बनाउनुपर्ने र मृतकको आफन्तको इच्छाअनुसार सदगदको व्यवस्था गर्नुपर्ने माग पनि गरिएको छ ।

प्रकाशित मिति:December 31, 2023