दुग्ध विकासमा मन्त्री भुसालको छड्के अनुगमन

  Sampatti News Online

January 3, 2024

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले मंगलबार बालाजु दुग्ध वितरण आयोजनाको छड्के अनुगमन गरेका छन् ।
लामो समय देखि दुधको भुक्तानी किसानले नपाइरहेको बेला मन्त्री भुसालले बालाजु दुग्ध वितरण आयोजनाको छड्के अनुगमन गरेका हुन् ।
मन्त्री भुसाल, मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेलसहितको अनुगमनमा यो आयोजनाका २ सय ५१ कर्मचारी मध्ये ८३ जना अनुपस्थित रहेको पाइएको छ । जसमा जुनियर टेक्निसियन असिस्टेन्ट विजय कुमार यादव विहीबारसम्म विदामा बसेर हाजिरी गरेको पाइएको छ ।
यस्तै आयोजनाले किसानको भुक्तानी दिन नसकेको, बजार व्यवस्थापन राम्रो नभएको, सरसफाईको अवस्था दयनिय रहेको पाइएको छ ।
केही महिना अगाडी खाद्य प्रविधि तथा गुणस्तर विभाग र जिल्ला प्रशासन कार्यालयले गरेको संयुक्त बजार अनुगमनमा भेटिएका अखाद्य वस्तु नष्ट गर्न भनिएपनि अझै नष्ट नगरेको पाइएको छ ।
आयोजना भद्रगोल अवस्थामा सञ्चालन रहेको देखेपछि मन्त्री भुसालले आयोजा प्रमुख गणेश कुमार यादवलाई तत्काल सुधारका काम गर्न निर्देशन दिएका छन् । आयोजनामा देखिएका वेथितिलाई अनुगमन टोलीले टिर्पोट गरी ल्याएको छ । आवश्यक अध्ययन पश्चात आवश्यक कदम चालिने मन्त्रालयले जनाएको छ ।
दुग्ध विकास संस्थान निरन्तर घाटामा गइरहेको छ । संस्थानमाथि मन्त्रालयमा उजुरीका चाङ छन् । पटक पटक संस्थान सुधारका लागि मन्त्री भुसालले मौखिक र लिखित निर्देशन दिदै आएपनि महाप्रबन्धक सञ्जिव झाले अटेरी गर्दै आएका छन् ।
केही दिन अगाडी किसानले भुक्तानी नपाउँदासम्म कर्मचारीले प्राप्त गर्दै आएको अतिरिक्त सेवालाई मन्त्री भुसालले कटौती गराएपनि त्यसको कार्यान्वयन नभएको पाइएको छ ।
अनुगमनका क्रममा देखिएका समस्या समाधानमा आफू सक्रिय रहेको र संस्थानको सुधारका लागि आवश्यक निर्णय गर्ने मन्त्री भुसालले जनाएका छन् ।

प्रकाशित मिति:January 3, 2024