जलवायु परिवर्तन कम गर्न नेपालले बाँस खेती गर्नुपर्छ : विश्व खाद्य तथा कृषि सङ्गठन

  Sampatti News Online

January 11, 2024

काठमाण्डौ – विश्व खाद्य तथा कृषि सङ्गठनले जलवायु परिवर्तनको असर कम गर्न नेपालले बाँस खेती गर्नुपर्ने सुझाव दिएको छ।बिहीबार वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोसँग भेटवार्तामा सङ्गठनका प्रमुख क्यु दोङ युले जैविक विविधताको संरक्षण गर्न, भूक्षय रोक्नुका साथै जलवायु परिवर्तनको असर कम गर्न बाँस खेती विकल्प हुनसक्ने सुझाव दिनुभएको हो । उहाँले नेपालमा खेती नगरिएका र बाँझो जमिनको उपयोगमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।

प्रमुख युले नेपालमा बाँस खेतीको सम्भावना धेरै रहेकाले राष्ट्रिय कार्यक्रम नै बनाएर अघि बढ्न सुझाव दिनुभयो । स्थानीय तथा प्रदेश सरकारले कृषि वनको कार्यक्रमलाई बढावा दिनुपर्नेमा उहाँले जोड दिनुभएको छ ।

भेटमा वन तथा वातावरणमन्त्री महतोले खाद्य, जल, ऊर्जा, वन र जैविक विविधतालाई एकीकृत रूपमा अगाडि बढाउने कार्यक्रम नेपालजस्ता बहुआयामिक जोखिम भएका देशमा आवश्यक रहेको बताउनुभयो ।
विश्व खाद्य तथा कृषि सङ्गठनका प्रमुख यु नेतृत्वको टोली तीन दिने भ्रमणका लागि काठमाण्डौ आएको हो । प्रतिनिधि मण्डलले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसालसँग भेट गरिसकेको छ । विश्व खाद्य कार्यक्रमले बिहीबार दिउँसो भविष्यको स्मार्ट बाली सम्बन्धी नीति संवाद गर्दैछ ।
विश्व खाद्य कार्यक्रमले नेपालमा सन् १९५१ देखि काम गर्दै आएको छ । यो नेपालमा काम गर्ने संयुक्त राष्ट्र सङ्घ अन्तर्गतको पहिलो नियोग हो । विश्व खाद्य कार्यक्रमले नेपालमा खाद्य र पोषण सुरक्षा, दिगो प्राकृतिक स्रोत व्यवस्थापन, दिगो कृषि र ग्रामीण विकासमा काम गरिरहेको छ ।

प्रकाशित मिति:January 11, 2024